भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो।

विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष समेत रहेका मेयर श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको जानकारी नेपालभाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धरले वताएका छन्। संयोजक मानन्धरका अनुसार, आगामी असार ७ गतेदेखि सुरु हुने मध्यपुर थिमि नगरपालिका परिषद्को बैठकमा मेयर श्रेष्ठले प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै अहिलेको लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने समेत बचनबद्धता प्रकट गरेका छन्। ध्यानाकर्षण पत्र बुझाएको कार्यक्रममा नेपालभाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नविन प्रकाश श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुरेन्द्र किलंनः श्रेष्ठ, ओम कृष्ण श्रेष्ठ, जीवन पति श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल जेठ ३१ गते सोमवार ।