भक्तपुर। मध्यपुरथिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठलाई आक्रमण गरेर ज्यान लिने प्रयास गरेका दुई अभियुक्तलाई सोमबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ।

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा परेका हसमुख मेयरश्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई काठमाडौको डिल्लीबजार कारागार चलान गरिएको हो।

कालिकोट, रुप्सा–५ घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप, दोरम्बा गाउँपालिका–२, मानेडाँडा घर भइ सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन्। प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत् मुद्दा चलाएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।