भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमिको कस्मा तुंथि, चपाचो वडा नं ६ स्थित थिमिको सबैभन्दा ठूलो बहाल ‘जेतवर्ण महाविहार’दथु बहाःको पूर्नरनिर्माण शिलान्यास भएको छ। बहालका संरक्षक धर्मवीर शाक्यका परिवार सहित बागमति प्रदेश भक्तपुर २ (२) का सांसद राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा शिलान्यास गरेको हो।

करिब ४०० वर्ष अघि मल्लकालीन शैलीमा निर्मित उक्त बिहार प्राणमाया वज्राचार्यको स्वामित्वमा भोगचलन रहेको छ । उक्त विहार विसं.२०७२ सालको भूकम्पले जिर्ण भएको थियो । स्थानीय सरकार र बागमति प्रदेशका विकास निर्माणको सहयोगमा पूर्नरनिर्माण योजना अन्र्तगत उक्त विहार पूर्नरनिर्माण शुभारम्भ भएको हो। १ करोड रुपैयाको लागतमा उक्त बिहारको पूर्नरनिर्माण हुन लागेको हो।

शिलान्यास अघि सम्पन्न सभामा उक्त विहारको पुनरनिर्माण धार्मिक, सामाजिक र सांस्कृतिक संरक्षण एवं प्रयोजनको उद्देश्यबाट हुनगइरहेको मन्तब्य सहित प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले सो विहार पहिला देखि नै जनहितको निमित्त प्रयोगमा रहेका कुरामा जोड दिएका छन् । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले यस विहारको पूर्नरनिर्माणले मध्यपुर थिमिकै ऐतिहासिक सांस्कृतिक धरोधरको उच्च मूल्यांङ्कन भएको उल्लेख गरेका छन्।

स्थानीय जनप्रतिनिधिहरुले पनि दथु बहाःको ऐतिहासिकता विषय मन्तब्य राखेका थिए। विहार संरक्षक धर्मवीर शाक्य परिवारको तर्फबाट नरेशवीर शाक्यले सो बहालले थिमि क्षेत्रको सांस्कृतिक सम्पदा प्रतिनिधित्व गरिरहेकोमा स्थानीय र प्रादेशिक सरकारले पूर्नरनिर्माण योजना अन्र्तगत सम्पदा संरक्षणमा पाइला चालेकामा धन्यवाद सहित बहालको पूर्नरनिर्माण निर्धारित लक्ष्य एवं प्रयोजनको निमित्त मात्र हुनुपर्ने कुरामा जोड दिएका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन ३ गते शनिवार ।