मध्यपुर थिमि (भक्तपुर) । फोहरलाई मोहर होइन, अव डलर बनाउने बेला भएको छ। यो बेलालाई मध्यपुर थिमि नगरपालिकाले चुपचाप विगत चारबर्ष देखि फोहरलाई डलर वनाउने कार्य गर्दैआएको हो। यो कुराको खुलासा मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले भिजन संसार डटकमको गौरवशाली प्रस्तुति भिजन संसार प्लस मार्फत गरेका छन्।

जापानी रिकिशी कम्पोष्टसंगको सहकार्यमा मध्यपुर थिमि नगरपालिकाले फोहरलाई मोहर होइन, डलर वनाउने कार्य मध्यपुर थिमि नगरपालिकामा नै गर्दैआएको हो। जसको नेपालका धेरै नगरपालिकाका मेयरहरुले भिजिट गरेर त्यसको सिको गर्ने कार्य भएको रिकिशी कम्पोष्ट परियोजनाका उषा गिरीले वताएकी छन्।

त्यसक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले पनि मध्यपुर थिमि नगरपालिकाको फोहरलाई अर्गानिक मल वनाएर डलर बनाउने कार्यको आइतवार अवलोकन भ्रमण गरेका छन्। प्रविधि अत्यन्त राम्रो र लाभदायिक भएको र त्यसलाई जनकपुरधाम उप–महानगरपालिकाले पनि सिको गर्ने मेयर साहले भनेका छन्।

मध्यपुर थिमि नगरपालिका वडा नंबर ४ मा संचालित फोहरलाई डलर वनाउने रिकिशी कम्पोष्ट मल परियोजनाले नगरका ४ नंबर वडाका सवै र ३ र ५ का केही घरवाट फोहर संकलन गरेर अर्गानिक मल अर्थात कम्पोष्ट मल वनाउने कार्य गर्दैआएको छ। त्यसरी उत्पादन भएको नगन्हाउने खेत–बारी तथा बालीनालीका लागि अत्यन्त उपयोगी अर्गानिक मलको निक्कै डिमाण्ड रहेको छ।

प्रतिकेजी रु.२५ मा विक्री वितरण हुंदैआएको उक्त अर्गानिक मल नेपालको राष्ट्रपति भवनदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित निवासको करेसावारीमा समेत प्रयोग भएको जानकारी मध्यपुर थिमि नगरपालिकाका मेयर श्रेष्ठले वताएका छन्।

नगरवासी र मेयरको टाउको दुखाईको विषय बन्ने गरेको फोहरको उचित व्यवस्थापन भएर एकातिर अर्गानिक मल बन्नु र त्यसवाट आय आम्दानी हुनु तथा अर्कोतिर बालीनाली र माटोको उब्जनीमा व्यापक बृद्धि भएपछि मोहर होइन, डलर नै आय हुने गर्दछ भनेर मेयर श्रेष्ठले वताएका छन्। यो परियोजना अत्यन्त उपयोगी भएको र यसवाट मध्यपुर थिमि नगरवासी लाभान्वित बनेको तर्क पनि मेयर श्रेष्ठको रहेको छ।

प्रकाशन मिति–२०७८ साल पुस ११ गते आइतवार ।