काठमाडौं। कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। धेरैको हालत बेहाल भैसकेको छ। विपन्न वर्गलाई सरकारले राहत दिएर सहयोग गर्ने कार्य भैरहेको छ।

तलपनि जान नसक्ने र माथि पनि पुग्न नसक्ने मध्यम वर्गको समस्यालाई आत्मसात गर्दै पहिलो पल्ट मध्यम वर्गलाई पनि राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई राहत दिने कार्य भएको हो।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले मध्यम वर्गलाई राहत सहयोग प्रदान गरेको हो। मध्यम वर्गिय परिवारको अझ व्यापक समस्यालाई मध्यनजर गरेर सामाजिक अभियन्ता भैरब सापकोटाको पहलवाट पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले ५२ जनालाई राहत प्रदान गरिएको जानकारी आयोजक सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले भिजन संसार डटकमलाई बताएका छन्।

यो विषम परिस्थितिमा आफूले सक्दो सहयोग गर्न पाउंदा अत्यन्त गौरब लागेको भिजन संसार डटकमको भिडियो वार्तामा पूर्व क्रिकेट खेलाडी तथा समाज सेवी बरदान चालिसेले बताएका छन्।

राहत सहयोग वितरण कार्यमा बरदान चालिसेकी जीवन संगीनी रिभा पोखरेलका साथमा अनिशराम भट्टराई, ईश्वरी अधिकारी, सूर्यभगत श्रेष्ठ ,राजेन्द्र मान जोशी,प्रकाश महर्जन, न्यूजलाइन्सनेपालका अध्यक्ष राजु भट्ट, बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमला लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।