काठमाडौं। स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनको इच्छा पूरा गरिदिने विश्वास मानिएको गोरखाको मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड–१९ को महामारी कारण जारी स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनकामना मन्दिरको नियमित पूजा हुने भएको हो।

मनकामना दर्शन प्रालिले प्रशासनको सूचनाअनुसार फागुन १ बाट मनकामना मन्दिरमा पूजा नियमित हुने र सोहीअनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ। सोही छुट अनुरुप मनकामना मन्दिरमा फागुन १ गतेवाट नियमित पूजा हुने तथा सर्वसाधारणलाई खुला गरिने भएको हो ।
प्रकाशन मिति–२०७८ साल माघ २५ गते मंगलवार ।