काठमाडौ। बृद्धाबस्थामा घरमा सवै भएर पनि सुख–दुःख बाँड्ने आफ्ना भन्ने कोही भएन भने साह्रै गाह्रो हुने गर्दछ। अर्कोतर्फ मनको बह पोख्ने र टाइमपास गर्ने साथीहरु नहुंदा पनि कठिन हुने गर्दछ।

त्यो कठिनाई र पीडालाई आत्मसात गर्दैआएकी काठमाडौ जैसीदेवलकी ५५ बर्षिया शीला सायमीले विगत दुई बर्षदेखि निरन्तर संचालन गर्दैआएको बृद्धाहरुको घाम ताप्ने र कथा सुन्ने तथा मनको बह पोख्ने चौतारीलाई स्थानको अभाव भएको छ।

जैसीदेवल अगाडिको सतल जस्तो चौतारीवाट सार्वजनिक रुपमा प्रारम्भ भएको त्यस स्थानमा दैनिक ५० जना बृद्धाहरु पुग्ने गर्दैआएका छन्। त्यस स्थान सडकमा नै भएकोले अलि कठिनाइ जस्तो महशुश भएकोले कोहिटी बहालभित्र केही महिनादेखि त्यस कार्यक्रम संचालन हुंदैआएको हो।

कोहिटी बहालभित्रको कीर्तिपुण्य बही पनि फाल्गुण महिनावाट पूर्नरनिर्माणको लागि भत्काउने भएकोले त्यहाँ बृद्धा आमाहरुको दैनिक भेला भएर गरिदैआएको टाइमपास र मनको बह पोख्ने चौतारी कार्यक्रम प्रभावित बन्ने देखिएको छ। सही स्थानको लागि आफूले खोजी गर्दैगरेको र हालसम्म नपाएकोमा शीला सायमी चिन्तित बनेकी छन्।

कतै स्थान नपाएर यो सामाजिक अभियान स्थगित हुने हो कि भन्ने उनमा डर रहेको छ। मध्यान्ह १२ बजे भेला भएर २ बजेसम्म बस्ने कतिपय बृद्धाआमाहरु आफूजस्तै साथीहरुसंग मनको बह पोख्दै भक्कानिने गरेका छन्। कतिले आफूहरुलाई बस्न उपयुक्त बृद्धाश्रम बनाइदिन पनि शीला सायमीलाई भन्दैआएका छन्। उचित आयश्रोत नभएको कारण उनीहरुको चाहनालाई आफूले पूरा गर्न नसकेको सायमीले बताएकी छन्।

दिनमा दुई घण्टा मनको बह पोख्दै दुःख–सुख बाँड्न आउने ती बृद्धा आमाहरुलाई दैनिक चिया तथा खाजा सामान्य रुपमा खुवाउंदा पनि मासिक ३० हजार खर्च हुने गरेको उनले भनेकी छन्। हालसम्म आफूले जग्गा बेचेर संचित गरेर राखेको पैसावाट खर्चदै आएको बताउंदै यस कार्यमा आफूलाई कतैवाट सहयोग नभएको समेत सुनाएकी छन्।

सरकार तथा कोही दाताले सहयोग गरेमा यस कार्यक्रमलाई डे–केयर बृद्धाश्रमको रुपमा विकास गर्ने आफ्नो योजना रहेको पनि उनले भनेकी छन्। शीला सायमीले संचालन गर्दैआएको यसप्रकारको सामाजिक कार्यको अवलोकनमा पुगेका काठमाडौ क्षेत्र नंबर ८ (क) प्रदेश सभासद राजेश शाक्यले यसप्रकारको कार्य अत्यन्त सह्रानिय रहेको र यसमा आफूले सक्दो सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेका छन्।

बृद्धाआमाहरुको कथा–व्यथा सुनेर अत्यन्त भावुक बनेका प्रदेश सभासद राजेश शाक्यलाई न्हांपागु पलाःनामक संस्थाको तर्फवाट प्रदेश सभासदमा निर्वाचित बनेकोमा सम्मान पनि गरिएको छ।

३ नंबर प्रदेशको मन्त्री बनेर उदाहरणीय कार्य गर्न पनि ती बृद्धाआमाहरुले आशीर्वाद दिने कार्य पनि भएको छ। ती बृद्धाआमाहरुको आशीर्वादवाट अझ भावुक बनेका प्रदेश सभासद राजेश शाक्यले प्रदेश मन्त्री भएर आमाहरुको सेवामा आउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७४ साल माघ १६ गते मंगलवार ।