काठमाडौ। १ सय ८ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा १ सय ८ बर्षकी आमा सम्मानित बनेकी छन्। काठमाडौको चन्द्रागिरि नगरपालिका स्थित बालकुमारी मन्दिर परिसरमा आयोजित कार्यक्रममा १ सय ८ बर्षकी बृद्धा आमा पूर्णलक्ष्मी अमात्यको सम्मान भएको हो।

बृद्ध–बृद्धा उमेरमा पुगेकाहरुको मनको बह पोख्ने चौतारीको अभियन्ता तथा सामाजिक सर्जक शीला सायमी अध्यक्ष रहेको न्हापाँगुःपलाःनामक संस्थाले आयोजना गरेको कार्यक्रममा १ सय ८ बर्षकी अमात्यलाई नेपालका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले दोसल्ला ओढाएर ताम्रपत्र सहित सम्मान गरेका हुन्।

शनिवार आयोजित कार्यक्रममा नेपालभाषाका दुई चर्चित नारी कथाकार सुवर्णकेशरी चित्रकार तथा मोतिलक्ष्मी शाक्यलाई पनि सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा नेपालभाषाका अग्रज पत्रकार सुरेश किरणले नेपालको कानूनले नारीलाई दिएको हक तथा अधिकारका बारेमा जानकारी दिने कार्य भएको थियो।

सम्मान तथा बनभोज कार्यक्रममा शीला सायमीको मनको बह पोख्ने चौतारीका अधिकाँश बृद्ध–बृद्धाहरुको सहभागिता रहेको थियो। रमाइलो बाताबरणमा पिकनिक मनाउन पाउंदा उनीहरु अत्यन्त रमाएका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन २७ गते आइतवार ।