०मनमगन अव नेपालभाषा भर्सनमा ०हिन्दी भाषामा पनि छिट्टै आउने ०भारत पलायन नबन्ने

काठमाडौ। नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै आएका गायक दीपक बज्राचार्य विश्वकै गायक तथा नायक बन्ने होडमा रहेका छन्।

नेपाली गीतमा अंग्रेजी मिसाएर गीत गाउने परम्पराको शुरुवात गर्ने गायक बज्राचार्यको ओ अमिरा पश्चात तहल्का नै भएको गीत मनमगन नै हो। लाखौं–करोडौको ढुकढुकी बनेको गायक बज्राचार्यको मनमगन बोलको गीत आइतवारवाट नेपालभाषा भर्सनमा पनि रिलिज भएको छ।

नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा अगाडि बढेको गायक बज्राचार्यको यही गीतको हिन्दी भर्सन पनि यही महिनाभित्र सार्वजनिक हुने भएको छ। भारतको ख्यातिप्राप्त डीजी ट्युन म्युजिक कंपनीले हिन्दी भर्सनमा गायक बज्राचार्यको मनमगनलाई ल्याउने भएको छ।

त्यसको लागि मात्र भारतीय उक्त कंपनीले प्रमोसनल क्याम्पियनको लागि मात्र पनि करोडौ रकम बजेट छुट्याइसकेको जानकारी पनि गायक बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्। त्यसको अलावा यो गीत मनमगन हिन्दी भर्सनमा आउने भएपछि भारतीय च्यानलहरुमा पनि तहल्कापूर्ण प्रसारण हुने मात्र नभइकन भारतका प्रमुख शहरहरुमा यसको होडिङ बोर्डहरु पनि सजिने भएको छ।

यसवाट यो गीतको माध्यमवाट नेपाली गौरबमय कला तथा संस्कृतिको व्यापक प्रचार–प्रसार हुने निश्चित भएको दावी पनि गायक बज्राचार्यले गरेका छन्। त्यसको अलावा भारतमा नै गएर केही हिन्दी गीतहरु गायक बज्राचार्यले गाउने भएका छन्। त्यसको संपूर्ण तयारी भैसकेको जानकारी पनि बज्राचार्यले दिएका छन्।

नेपाली गायक उदितनारायण झालाई जस्तै भारतमा नै बसेर काम गर्न अफर गरेमा उतै पलायन हुने पो हो कि भन्ने भिजन संसार डटकमको प्रश्नमा उदित जस्तो भारतमा नै बसेर काम गर्ने कुनै सोच नभएको बरु, विश्वकै सवै देशको भाषामा नेपाली गीत गाएर विश्वकै गायक बन्ने आफ्नो भिजन तथा मिसन नै भएको खुलासा गरे।

एक दशकअगाडि नै सवैभन्दा पहिला स्पेनिश भाषामा लावाम्बा बोलको गीत गाएको पनि उनले बताए। मनमगनको तहल्कापूर्ण चर्चामा हलिउड, बलिउड या कलिउडवाट फिल्म खेल्ने अफर आएमा निश्चित रुपमा खेलेर त्यसमा पनि बाजी मार्ने सोच रहेको उनले भनेका छन्। तर,हालसम्म त्यस्तो अफर आइनसकेको खुसुक्क भन्न उनी चुकेनन्।

यो तीन महिना मनमगनको युरोप, कोरिया, अष्ट्रेलिया, अमेरिकाको टूर हुने भएको छ। जुन देशमा जहाँ कन्सर्ट गरिन्छ–त्यही देशको भाषामा नेपाली बाजागाजाको अतुलनिय संगीत रहेको मनमगन गाएर नयाँ आयाम तथा रेकर्ड राख्ने कार्य पनि हुने गायक बज्राचार्यको भनाई रहेको छ।

प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार ।