काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले बागमती कानून एपको विधिवत रुपमा शुरुवात गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.शाक्यले बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि बागमती कानून एपको विधिवत शुभारम्भ भएको हो।

अव बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न मात्र नभइकन डाउनलोड गर्न र विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न मिल्ने भएको छ। बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि मन्त्री डा.शाक्यले डिजिटाईजेशनको अवधारणालाई आत्मसाथ गर्दै मन्त्रालय सम्हालेको बताउदै केही समय अघि उद्घाटन भएको सूचना बैक र हालै उद्घाटन भएको बागमती कानून एप त्यसको उदाहरण भएको खुलासा गरेका छन्।

मन्त्रालयका सचिव मदन भुजेलले मन्त्री डा.शाक्यको तदारुपता र कर्मचारीहरुको सिर्जनशिल ईच्छाशक्तिले मन्त्रालयले यस प्रकारको उपलब्धिमुलक कार्य गर्न सफलता पाएको जिकिर गरेका छन्। शुभारम्भ कार्यक्रममा प्रदेश सरकारका मुख्य न्यायधिबक्ता ओम प्रसाद थपलिया, मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश पत्रकार महासंघ प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, नेपाल टेलिभिजन, रेडियो नेपाल लगायतका पत्रकारहरुको उपस्थिती थियो।

बागमती कानून एपमा नेपालको संविधान, बागमती प्रदेश सरकारले तर्जुमा गरेका ऐन, नियमावली, अध्यादेश, गठन आदेश, निर्देशिका, कार्यविधि, प्रदेश राजपत्रहरु प्राप्तद गर्न सकिनुको साथै निर्माणको क्रममा रहेका कानूनहरुमा सर्वसाधारण जनताले आफ्नो राय, सल्लाह सुझाव पनि व्यक्त गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक ४ गते विहीवार ।