काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जननिर्वाचित मेयर भएका कारण जनताका मन दुःखाउन पटकै चाहदैनन्। सवैलाई साथीभाइको शालिन व्यवहार मेयर शाक्यमा रहेको छ।

बैशाख १४ गते शनिवारका दिन मेयर शाक्यको व्यस्तता निक्कै थियो। त्यो दिन विशेषत काठमाडौंको मुटु टुंडिखेलस्थित खुलामञ्चको अस्थायी बसपार्कमा अवैध रुपमा रातारात तयार पारेका संरचनामा डोजर चलाएर जनमतको कदर गर्ने कार्यमा मेयर शाक्य व्यस्त देखिएका थिए। त्यो व्यस्तताका बाबजुद जनताले बोलाएका कार्यक्रमहरुमा सकभर समयमा पुग्ने र समयले साथ नदिएमा आयोजकलाई अन्तमा भएपनि आइपुग्ने बचन दिएर बचनको निर्वाह गर्ने मेयरको रुपमा विद्यासुन्दर शाक्य देखिएको छ।

त्यस दिन, बैशाख १४ गते शनिवार मेयर शाक्यलाई काठमाडौंको चोभार स्थित पिकनिक पार्कमा सयौंले कुरिरहेका थिए। अपरान्ह ४ बजेसम्मपनि मेयर शाक्य आउने आशामा सम्मान कार्यक्रम रोकेर विविध सांस्कृतिक कार्यक्रम गरेर शुभेच्छुकहरुलाई अलमलाएर राख्न आयोजक बुद्ध शान्त पार्क निर्माण समितिका अध्यक्ष शान्त बहादुर शाक्य र कार्यक्रम संयोजक अग्रज अभिनेता तथा निर्देशक पवन जोशी सफल भएका थिए।

मेयर शाक्य भक्तपुरको बोडे तथा ललितपुरको एक कार्यक्रमवाट फर्कदा ढिला हुने जानकारी प्राप्त भएपछि विशेष अतिथि समेत रहेका कार्यक्रम संयोजक पवन जोशी तथा काठमाडौं महानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोलको आतिथ्यतामा समाजका लव्ध–प्रतिष्ठित व्यक्ति–विशेषहरुलाई सम्मान कार्यक्रम भयो। त्यसपछि सवै फर्कने तर्खरमा थिए। कतिपय त फर्किपनि सकेका थिए। साँझको ६ बज्न लागिसकेको थियो।

त्यो बेला एकाएक भगवान श्रीकृष्ण तथा राधाको भेषमा ड्रेसअप तथा मेकअप गरेर पेशाले पश्मिना व्यवसायी समेत रहेकी अग्रज कलाकार रविना श्रेष्ठ तथा इन्दु ज्यापुनी चोभारमा देखा परे। दुवैले सम्मानित सवैलाई राधाकृष्ण चरित्रको नृत्य देखाउने मनशायले हतार–हतार ड्रेसअप तथा मेकअप गरेर आएका थिए। सवै फर्कने तयारी गरिरहेको देखेपछि रविना र इन्दुमा अलिकति निराशता छाएको थियो। तरपनि, राधाकृष्ण जस्ता देखिएका रविना र इन्दुसंग सेल्फी फोटो खिच्नेहरुको जमात भने ठूलै भएको थियो।

हेर्ने दर्शक सवै सम्मानित फर्किसकेको र केही वाँकी रहेको अवस्थामा काठमाडौं महानगरका मेयर शाक्यले बचन दिएअनुरुप ढिल्लैभएपनि कार्यक्रम स्थलमा पुग्दा भने रौनकता बढ्यो। मेयर शाक्यको हातवाट भगवान श्रीकृष्णको अवतारमा रहेकी रविना श्रेष्ठ र राधाको भेषमा रहेकी इन्दु ज्यापुनी सम्मानित बने। अनि, मेयर शाक्य प्रमुख आतिथ्यतामा राधाकृष्णको चरित्रमा मज्जाको गजबले नृत्य भयो।

भगवान श्रीकृष्ण बनेकी रविना श्रेष्ठ र राधा बनेकी इन्दु ज्यापुनीको राधाकृष्णको नृत्यले दिनभरको दौडधुपले थकित अनि शिथिल बनेका काठमाडौं महानगरका मेयर शाक्य पनि स्फुर्त बनेका थिए। मेयर शाक्यले मनमगन बनेर राधाकृष्णको नृत्य हेरेका थिए। मेयर शाक्यको कलाकारप्रतिको सदभाव र जनताप्रतिको उत्तरदायित्ववाट भगवान श्रीकृष्ण बनेकी रविना श्रेष्ठ पनि निक्कै दंग परेकी थिइन्। दैविय शक्तिको अदभूत क्षमता वोकेकी रविना श्रेष्ठ मेयर शाक्यवाट निक्कै प्रभावित बनेकी थिइन्।

काठमाडौं महानगरले सही र जनताको लागि सदा सोच्ने इमान्दार मेयर पाएको जिकिर पनि रविनाले गरेकी छन्। सतिले सरापेको देश भएर होला–राम्रो काम गर्ने मानिसको सदा आलोचना हुने गरेको यथार्थतालाई औल्याउंदै मेयर शाक्य विरोधीका कारण आलोचित भएतापनि जनतावाट आलोचित नबनेको दावी रविनाको रहेको छ। मेयर शाक्य पनि जनताको लागि अहोरात्र कार्य गर्न आफू तयार भएको र विहान ६ बजे घरवाट निस्केपछि धेरैजसो राति ११ बजेमात्र घर पुग्ने गरेको यथार्थता बताउन चुक्दैनन्। यस तथ्यले पनि मेयर शाक्यको काठमाडौं महानगर वनाउन कति धेरै व्यस्तता रहेछ भन्ने प्रमाणित भएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १७ गते मंगलवार ।