काठमाडौ। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ। अन्य १७ जना नेपाली गम्भीर बिरामी परेको त्यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ।

मृत्यु हुनेमा सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घले रहेका छन्। बाँकी तीन जनाको नाम खुल्न बाँकी रहेको दूतावासले जनाएका छन्। मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलका अनुसार, सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको हो।

बिरामी परेकाहरुमध्ये सुनगाई बुलोच अस्पतालमा ९ जनाको र काजङ अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ। व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा पनि एक–एक जनाको उपचार भइरहेको छ। बिरामी परेकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ।

मलेसियाको सेलेङगर शहरमा रोजगारीका लागि गएकाहरु मदिरा सेवनबाट मृत्यु भएको र बिरामी परेका हुन्। मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन उनीहरुले मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेकाहरुमा सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। त्यसलगत्तै उनीहरुलाई अस्पताल पु-याइएको थियो।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा बिरामी भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कार्यवाहक राजदूत खरेलले भनेका छन्। कार्यवाहक राजदूत खरेल नेपालीको अवस्था बुझ्न अस्पताल पनि पुगेका थिए।
प्रकाशन मिति–२०७५ साल असोज ३ गते बुधवार ।