काठमाडौं। मलेसियामा चार नेपालीको विषाक्त मदिराको कारण मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलमा मलेसिया पुगेका ती चार नेपालीले विषाक्त मदिरा सेवन गरेको कारण मृत्यु भएको खुल्न आएको छ।

मलेसियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको हो। मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले यस कुराको पुष्टि गरेको राससले जनाएको छ।

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको कार्यवाहक नेपाली राजदूत खरेलले भनेका छन्। उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको छ।

विषाक्त मदिरा सेवनबाट हालसम्म १५ जनाको मृत्यु भइसकेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । उनीरुको राष्ट्रियता भने खुलाएको छैन्।
प्रकाशन मिति–२०७५ साल असोज २ गते मंगलवार ।