ललितपुर। मल्ल राजाहरुको खानदानी देसार जाति ललितपुर चापागाउंको चिनारी नै हो। यिनै चापागाउंका चित्र बनाउने गजबका कलाकार अजय देसारले विश्वमा चित्रवाटै देश चिनाउने कार्य गर्दैआएका छन्। चित्रवाटै विश्वखाने अग्रज कलाकार अजय देसारसंग सानैमा चित्र सिकेकी विद्यार्थी रिया बज्राचार्य एकल चित्रकला प्रदर्शन गर्ने तयारीमा रहेकी छन्।

रियाको तीनदिने एकल चित्रकला प्रदर्शनी पाटनको मंगलबजार स्थित पाटन म्युजियममा विहीवारवाट हुने भएको छ। रियाको सानैदेखि चित्रकला प्रदर्शनी गर्ने सोच चित्रकै आफ्नै गुरुदेव अजय देसारको योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा हुनेभएवाट उनी निक्कै हौसिएकी छन्।

ललितकला क्याम्पसमा फाइन आर्टमा स्नातक गर्दैगरेकी रियाले चित्रकलाको कलाकारितावाट धेरै कमाएकी त छैनन्। हालसम्म दुईवटा चित्र बेचेर ५ हजार ५ सय मात्र कमाएको बताउने रिया चित्रवाटै नाम र दाम दुवै कमाउने दौडमा रहेकी छन्। उनको पहिलो एकल चित्रकला प्रदर्शनीमा विशेषत मौसमी विभिन्न फूलहरुको एक्रोलिक चित्रहरु रहेको छ।

प्रदर्शनीमा रियाको १४ वटा चित्र र अर्की चित्रकलाका कलाकार सरुनादेवी महर्जनको महिला सशक्तिकरण संवन्धी ११ चित्रहरु हुने जानकारी आयोजक योङ पिकासोका कार्यकारी प्रमुख समेत रहेका अग्रज कलाकार अजय देसारले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।