काठमाडौं । काठमाडौंको हनुमानढोका दरवार स्क्वायर स्थित दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो ।

दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पूजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्राउने कार्य पनि भएको छ। दिगु तलेजुका सहायक पूजारी मदनराज जोशीले थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्राएका हुन् । नवनियुक्त मूल पूजारी सुवेदीले शनिवारबाटै नित्य पूजा पनि शुरु गरेको जानकारी सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायले भिजन संसार डटकमलाई दिएका छन्।

सञ्चारकर्मी राजोपाध्यायका अनुसार, गत कार्तिक १९ गते दिगु तलेजुका तत्कालीन मूल पूजारी नारायण राज सुवेदी राजोपाध्यायको निधनपछि मूल पूजारी पद रिक्त रहेको थियो । दिगु तलेजुको पूजा दिक्षा प्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा मूल पूजारी पद रिक्त रहेको थियो । मूल पूजारी नहुँदा यहाँका जोशीहरुबाट पूजा सम्पन्न हुँदै आएको थियो।

दिगुतलेजु मल्ल राजाहरुकी कुलदेवीको रुपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरु स्वयम् नै उपस्थित रहने भनिएको छ । काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरको बाहिर प्रतापमल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगु तलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर रहेको छ ।

भाषावंशावलीअनुसार यो मन्दिर राजा शिवसिंह मल्लले बनाएका थिए। पछि वि.सं. १७२७ भाद्रमा राजा प्रतापमल्लले यस मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए । कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ। कुलदेवता रहेको मन्दिरमा जो कोही पस्न नपाइने नियम रहन्छ र कुलदेवता वा देवीको पूजा गुप्त रुपमा गर्ने गरिन्छ । काठमाडौँको दिगुतलेजुकै अनुकरणमा पाटनमा दिगुतलेजु राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ फागुनमा निर्माण गरेका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र ८ गते आइतवार ।