ललितपुर। नेपालका अत्यन्त चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य जोडी भएको पनि यो बर्षवाट ३८ बर्ष पूरा भएर ३९ बर्षमा लागेको छ। यस अवसरमा यिनै मह जोडीका प्रिय रातामकै किरण केसीको निर्माण प्रस्तुतिमा नयाँ हास्य चलचित्र दाल–भात–तरकारीको निर्माण घोषणा भएको छ।

ललितपुरको कुपण्डोल स्थित हरिबंश आचार्य पुत्र मोहितबंश आचार्यको संचालनमा रहेको ब्रिकस् क्याफेमा चलचित्र दाल–भात–तरकारीको निर्माण घोषणा भएको हो। मह सञ्चारका लागि किरण केसीको निर्माण प्रस्तुति तथा रमिला पाठक, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यमन श्रेष्ठ लगायत ११ जनाको निर्माण रहेको यस चलचित्रको निर्देशन सुदन केसीले गर्ने भएका छन्।

निर्देशक सुदन केसी रातामकै किरण केसीका पुत्र हुन्। जसले नेपाली चलचित्रको अलावा हलिउडका केही चलचित्रमा समेत सहायक निर्देशनको कार्य गरिसकेका छन्। निर्देशक सुदन केसीको चलचित्र दाल–भात–तरकारी डेव्यु निर्देशनको फिल्म पनि हो। यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल, जयनन्द लामा, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसील, नरेन्द्र कंसाकारगायतका कलाकारहरुको एक से एक अभिनय रहने बताइएको छ।

मंसिर पहिलो साताबाट चलचित्र दाल–भात–तरकारीको छायाँकन शुरु हुने भएको छ। नयाँ वर्ष २०७६ साल १३ गते बैशाखमा प्रदर्शन मिति तोकिएको छ। हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने कार्यक्रममा जानकारी गराईयो। फिल्मको कथा, पटकथा, सम्बाद र गीत हरिवंश आचार्यले लेखेका हुन्। जसमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहने छ।

फिल्मका गीत हरिवंश आफैंले लेखेका छन्। फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ। मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन्।


प्रकाशन मिति–२०७५ साल साउन ३१ गते विहीवार ।