पोखरा। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौं संस्करणको साहित्य महोत्सवको अन्तिम दिन सोमवार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ।

MaHa in Pokhara

छलफलको प्रारम्भमा नै हरिवंश आचार्यले आफूहरू महको ३७ वर्षे सहयात्रा निरन्तर रुपमा बढेको बताउँदै सफल साझेदारीका पाठहरू विषयको सो छलफललाई आफूले स्याबासी समारोहका रुपमा लिएको टिप्पणी गरे। साझेदारी सफल बन्नका लागि कसैको आलोचना भन्दा पनि उसका राम्रा कुराको खोजी आवश्यक हुनेमा जोड दिँदै हरिबंश आचार्यले आफूभन्दा धेरै राम्रा गुण मदन दाइमा छन्, उहाँसँग ९० प्रतिशत राम्रा कुरा छन्, मसँग त्यस्तै ५० प्रतिशत मात्र रहेको बताए।

आफ्नो सहयात्रालाई नेपाली दाजुभाइ दिदीबहिनीको आशीर्वादले झन्झन् गाढा बनाएको बताउँदै उनले मायासँगै प्राप्त सफलताले सामाजिक दायित्व पनि बढाएको आचार्यले उल्लेख गरे। ‘चिना हराएको मान्छे’ का लेखक आचार्यले आफू किताब लेख्छु भनेर लेखक बनेको नभइकन श्रीमती बितेपछि आफ्नो पीडालाई कापीमा उतारेको हुँ भनेर खुलासा गरेका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठले एकापसमा विश्वासका साथ सँगै हिँडेकै कारण आफूहरूको साझेदारी लामो समयसम्म सफलताका साथ बढेको धारणा व्यक्त गरे। सुरु सुरुमा हास्यव्यङ्ग्यलाई हेय भावले हेरिने गरे पनि पछिल्ला समयमा यसको गरिमा र महत्व बढ्दै गएको जिकिर गरे। श्रेष्ठले आध्यात्मिकता सबैमा आवश्यक हुनेमा जोड दिँदै राजनीतिज्ञमा पनि आध्यात्मिक भावना हुनुपर्ने बताए।

श्रेष्ठ आफूले पनि किताव चाँडै प्रकाशनमा ल्याउने भनेका छन्। दर्शकको उत्साहपूर्ण सहभागितामा भएको छलफलको अन्त्यमा कलाकार आचार्यले कुलमान घिसिङको प्रशंसाका साथ विद्युत् चोरी गर्ने गिरोहप्रति कटाक्ष गर्दै कवितासमेत सुनाएका थिए । महोत्सवमा साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।