Dhurmush Suntali Basti Nirman 2काठमाडौ । धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन्। महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहितले संयुक्त रुपमा बस्तीको शिलान्यास गरेका हुन्।

बस्ती शिलान्यासमा कलाकारहरु मनोज गजुरेल, किरण केसी, जितु नेपाललगायत पुगेका थिए । शिलान्यास कार्यक्रममा मुसहर समुदायले धुर्मुस–सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाएर स्वागत गरेका थिए। बस्ती शिलान्यास गर्दै कलाकार हरिवंश आचार्यले सीताराम कट्टेल नेपाल आमाको सपूत भएको बताए।

यसअघि पहाडमा खुसी छरेका सीताराम कुञ्जनाको जोडीले अहिले मुसहर बस्तीमा उज्यालो छर्दा सिंगो देशमै खुशी छाएको आचार्यको भनाइ छ। मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको भन्दै पदमा बसेकाहरूले काम नगरिदिएकाले देशको अवस्था विकराल बनेको चिन्ता व्यक्त गरे। कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए ।

Dhurmush Suntali Basti Nirman 1कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुशी छर्न पाउँदा आफूहरु खुशी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरे। गंगासागर सफाई अभियन्ता रामआशिष यादवले मुसहर बस्तीले तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गर्दै धुर्मुस, सुन्तलीलाई धन्यवाद दिए।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुने तथा नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गरिने धुर्मुसले जानकारी दिए।

गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको हो भने बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरिसकेका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।