Sushila Karki

काठमाडौ। सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्दै कार्कीलाई काममा फर्कन शुक्रबार अन्तरिम आदेश दिएको छ।

अन्तरिम आदेश दिएको लगत्तै शुक्रबारै प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको काममा फर्केकी छन्। सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले व्यवस्थापिका संसद, सभामुख ओनसरी घर्ती, सत्ताधारी पार्टी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नाममा महाअभियोग रोक्न आदेश दिएपछि कार्कीले सर्वोच्चको काम सुरु गरेकी हुन्।

आदेशमा शुक्रबारबाट काम सुरु गर्नु भन्ने शब्दावली समेटिएकाले कार्कीले शुक्रबारवाटै काम सुरु गरेकी हुन भनेर सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलले भनेका छन्। प्रधानन्यायाधीश कार्कीले बालुवाटार निवासबाटै शुक्रबार साँझ सर्वोच्चको हाजिर पुस्तिकामा हाजिर गर्दै दुई प्रशासनिक निर्णयमा हस्ताक्षर गरेकी छन्।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले शक्ति पृथकीकरणको सिद्धान्त उल्लघंन भएको दाबीसहित अधिवक्ता सुनिलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

आइतबार कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा दर्ता भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावले शुक्रबार मात्र संसदमा प्रवेश पाएको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख २२ गते शुक्रबार ।