काठमाडौं । काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फुलाउन काठमाडौं महानगरपालिका, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ । शुक्रबार त्रिपक्षीय सम्झौता भएको हो।

सम्पन्न सम्झौता पत्रमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की, नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र एरोरुटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बिप्लव सिंहले हस्ताक्षर गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको रोहबरमा सम्पन्न सम्झौताबमोजिम अबको ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाइनेछ । नयाँ सडक गेटअगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरिनेछ।


सम्झौताबमोजिम ट्राफिक आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्न, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नेछ । यो कामका लागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्नेछ । प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम काठमाडौं महानगरपालिकाले गर्ने सम्झौतामा उल्लेख रहेको छ।

Photo By-Chandra Mani Bhattarai/KMC
प्रकाशन मिति–२०७६ साल जेठ ३१ गते शुक्रवार ।