काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर स्थापनाको २५ औं बार्षिक उत्सव मनाएको छ। मंसिर २८ र २९ गते गरेर दुई दिन गरेर महानगर दिवस मनाएको हो। महानगर दिवसमा विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कुनै सेलिब्रेटी भन्दा कम भएन।

प्राय वडा सदस्य देखि शुभचिन्तक सवै मेयर शाक्यसंग बसेर फोटो खिच्ने र खिचाउनेको लगभग भीड नै लाग्ने गरेको पाइयो। अझ मेयर शाक्यलाई सांस्कृतिक जुलुसमा संग–संगै देख्ने र वीच–वीचमा भेट्नेहरुले समेत मज्जाले सेल्फी फोटो खिचेको पाइयो। काठमाडौं महानगरपालिकाका वडा सदस्यहरु कल्पना गुरुङ देखि बबी परियार, गीता पौडेलसम्मले पनि मेयर शाक्यसंग सेल्फी फोटो खिचेर महानगर दिवसलाई महाउत्सव बनाउने कार्य भएको थियो।

चिसो भनेको कोकाकोला तथा मेयर भनेको विद्यासुन्दर शाक्य भन्ने मेयर शाक्यकै उखानको यथार्थ चरितार्थ महानगर दिवसको उत्सवमा देखियो। कुनैबेला फिल्मी नायक–नायिकालाई महान सेलिब्रेटी मानिन्थ्यो भने, यतिखेर राजनीतिमा लागेका विशेष राजनीतिक व्यक्ति–विशेष सेलिब्रेटीको रुपमा देखिन थालेको छ।

अवका कुनैदिन फिल्मी सेलिब्रेटीहरुको जस्तै राजनीतिक सेलिब्रेटीहरुको पनि अटोग्राफ लिने प्रचलन नआउला भन्न सकिन्न। कतिपय आफ्ना प्रिय राजनीतिक सेलिब्रेटीहरुको अटोग्राफ लिने जमात पनि तयार भैसकेको छ। काठमाडौं महानगरपालिकाका मेयरको प्रसंगमा पनि राम्रो तथा नराम्रो जस्तो विषयवाट पनि चर्चा–परिचर्चामा रहेतापनि मेयर विद्यासुन्दर शाक्य आम राजनीतिज्ञहरु भन्दा माथि सेलिब्रेटी बनिसकेका छन्।

त्यसकारण त उनको चर्चा–परिचर्चा हुने गर्दछ। आरोप–प्रत्यारोप हुने गर्दछ। यस्तै घेरावन्दीवाट सेलिब्रेटी बनेका मेयर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको महानगर दिवसको अवसरमा बताएका छन्। यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको मेयर शाक्यको भनाई रहेको छ।

मेयर शाक्यले काठमाडौंलाई सहयोगापेक्षी-मानवमुक्त महानगर बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालन गरिएको दमकल भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा प्रस्तुत गरेका छन्। महानगरभित्रका परम्परागत बाद्य तथा नाच गुरुहरुलाई सम्मान तथा मूर्त–अमूर्त सांस्कृतिक सम्पदालाई जोगाउने कुरालाई प्राथमिकता दिएको मेयर शाक्यले भनेका छन्।

महानगर दिवसमा टोलमा रहेका जीवित देवी कुमारीहरुलाई जनही मासिक १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। त्यस्तै ८ जना पत्रकारलाई व्यक्तिगत र २ वटा सञ्चार माध्यमलाई संस्थागत रुपमा सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

व्यक्तिगततर्फ पुरस्कार प्राप्त गर्नेमा नेपाल समाचारपत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिकाका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिकी शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झीँगु डट कमकी रेखा शाक्य र लहना बाःपौ साप्ताहिकका नृपेन्द्रलाल श्रेष्ठ रहेका छन्। त्यस्तै संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई पुरस्कार प्रदान गरियो। जनही नगद ५० हजार राशी सहित सम्मान–पत्र प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल मंसिर २९ गते आइतवार ।