ललितपुर। बडा दशैंको महानवमीको दिन निकालिने ललितपुरको प्राचिन परम्परागत थसिमल पायो जात्रा (खड्गजात्रा) विधिवत रुपमा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरबको रुपमा रहेको महालक्ष्मीस्थान मन्दिरवाट शुरु भएर संपन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का १ सय १ युवा समितिको अनुशासित सुरक्षा उपसमितिको सहभागितामा संपन्न भएको थसिमल पायो जात्रा (खड्गजात्रा) महालक्ष्मीस्थान मन्दिरमा राँगा, बोका लगायतका पशुपन्छीको प्राचिन परम्परागत खड्गवाट बलि दिएपछि सोही बलि बोकेर जात्रा चलाइने गर्दछ।

यसक्रममा ललितपुरका महत्वपूर्ण स्थानहरुमा जात्राले परिक्रमा गर्दै पाटन दरवार क्षेत्रको मूलचोक भित्र पुगेर सफलता पूर्वक थसिमल पायो जात्रा सम्पन्न भएको जानकारी ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले दिएका छन्। संयोजक श्रेष्ठका अनुसार, यो जात्रा विगत चार बर्षदेखि निरन्तर चल्न थालेको हो। यसअघि चौबिस बर्ष रोकिएको थियो।

प्रकाशन मिति–२०७९ साल असोज १८ गते मंगलवार ।