काठमाडौं। काठमाडौंको बसन्तपुर दरवारको गद्दी बैठक अगाडिको ऐतिहासिक पुरातत्विक महत्वको माजु देगःमन्दिरको पूर्नरनिर्माण कार्य शुभारम्भ भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वस्त बनेको माजु देगःको पूर्नरनिर्माण प्रारम्भ भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले माजु देगःको पूर्नरनिर्माण कार्यको सोमवार विहान ९ बजेको साइतमा शुभारम्भ गरेका हुन्।

काठमाडौं महानगरपालिका हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिकाले महाभूकम्पले ध्वंस्त बनेको अति ऐतिहासिक माजु देगःको पूर्नरनिर्माण दुई बर्षभित्र निर्माणको ठेक्का पाएको ठेकेदार निर्माण कंपनी प्राकृतिक–सानु सुवाल–पवन जे.भी.ले गर्नुपर्ने भएको छ। ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा लागतमा निर्माण पूरा गर्ने संझौतामा उक्त कंपनीले माजु देगःपूर्नरनिर्माणको ठेक्का पाएको हो।

 

यस ठेक्का कार्यलाई कार्य समयभन्दा अगाडि नै पूरा गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाले प्रशासनिक तथा प्राविधिक कार्य सवै प्रक्रिया पूरा गरेर पूर्नरनिर्माणको लागि कार्यादेश दिइएको हो।

यस मन्दिरको ऐतिहासिकतामा कुनैपनि फेरबदल नहुने गरिकन जस्ताको तस्तै बन्ने मेयर शाक्यले भनेका छन्। उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले महाभूकम्पवाट अस्त व्यस्त तथा ध्वंस्त बनेका सवै सम्पदाको पूर्नरनिर्माण गर्न महानगरपालिका प्रतिबद्ध रहेको भनेकी छन्।

शुभारम्भ कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २३ का वडा अध्यक्ष मचाराजा महर्जनले महाभूकम्पले क्षतिग्रस्त माजु देगःपूर्नरनिर्माणको बस्तुस्थितिको बारेमा प्रकाश पारेका थिए। पूर्नरनिर्माण शुभारम्भ कार्यक्रमको सभापतित्व काठमाडौं महानगरपालिका वडा नंबर २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठवाट भएको थियो। कार्यक्रमको संचालन काठमाडौं महानगरपालिका हनुमानढोका संरक्षण कार्यक्रमका कार्यक्रम प्रमुख उदय बहादुर पसःखलःवाट भएको थियो।

कुनै विदेशी दातृनिकायसंग एक पैसा पनि नलिइकन काठमाडौं महानगरपालिकाले पूर्नरनिर्माण प्रारम्भ भएको माजु देगःमन्दिर दोश्रो सम्पदा हो। यसअघि महानगरपालिकाले काठमाडौंको गरिमा तथा शान काष्ठमण्डपको पूर्नरनिर्माण शुभारम्भ गरिसकेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १२ गते सोमवार ।