काठमाडौं। गैर सरकारी संस्था गुथिले एरोशानसंगको सहकार्यमा लकडाउनको समयमा गरेको महामारीमा महिनावारी विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ।

आयोजक गुथिका प्र्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार, अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार कार्यक्रममा अधिकाँश महिलाहरु (९१%) ले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्ने गरेको बताएकी छन् ।

हाल सम्म धेरैले घरमै भएको प्याड प्रयोग गर्नाका कारणले धेरै समस्या नदेखिएता पनि लकडाउन बढ्दै गएको अवस्थामा घरमा भएको प्याड सकिएपछि स्यानिटरी प्याड बजारमा नपाउने डर भने धेरैमा रहेको छ। लकडाउनको समयमा बजारबाट खरिद गरि प्याड प्रयोग गर्ने महिला मध्ये केहीले सजिलै पाएका छन् भने केहीले महंगोमा किन्नु परेको र आफूले
प्रयोग गर्ने ब्राण्ड नपाएको वा किन्नै नपाएको अवस्था पनि छ। कपडा सिलाएर बनाइएको प्याड र मेन्स्टुल कप प्रयोग गर्ने महिलामा भने लकडाउनको प्रभाव न्यून देखिएको छ।

महिनावारी स्वास्थ्य र स्वच्छता महिलाहरुको स्वास्थ्यको एक अपिरहार्य अंग हो। यसै कुरालाई मनन गर्दै विश्व महिनावारी दिवस २०२० को अवसरमा गैर सरकारी संस्था गुथिले स्त्री रोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग महिनावारी सम्बन्धि जिज्ञासा, जवाफ र परामर्शको अनलाईन अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरेका छ।

कार्यक्रममा धेरै महिलाहरुले महिनावारी सम्बन्धि प्रश्नहरु डा. सपना सामु राखेका थिए। यस प्रश्न उत्तरको दौरानमा महिनावारीमा हुने अनियमितता महिलाहरुले अनुभव गर्ने दुखाईका कारण र राजोनिवृत्ति (उमेर बढ्दै गएपछि महिनावारी रोकिने) का लक्षण, कुन अवस्थामा चिकित्सकसँग परामर्श लिन आवश्यक छ जस्ता विषयमा छलफल भएको थियो। छलफलको क्रममा महिनावारी सम्बन्धि समाजमा हुने अन्धविश्वास, असमानता र यसको उन्मुलनका निम्ति समाज, पुरुष वर्ग इत्यादिले दिन सक्ने योगदानको विषयमा पनि विश्लेषण गरिएको थियो।

कार्यक्रममा पूर्व वातावरण मन्त्री गणेश शाहले प्रविधिको प्रयाग गरेर महिनावारी सम्बन्धि परामर्श जानकारी दिने र जनचेतना फैलाउने कार्य गरेकोमा गुथिलाई धन्यवाद ज्ञापन गरे। साथै उनले महिनावारीमा देशभरका विद्यालयमा सरकारले निशुल्क प्याड दिने घोषणा गरेकोमा यसको अवलोकन तथा मूल्याङ्कन गर्नुपर्ने तर्फ ध्यानाकार्षण गरे।

त्यसै गरी महिनावारी सम्बन्धि जनचेतना खानेपानी, सरसफाईको क्षेत्रमा काम गर्ने इन्जिनियरमा पनि चाहिने बताए ‘‘शौचालय डिजनाइन गर्दा महिनावारीलाई ध्यानमा राखी प्याड डिस्पोजलको व्यवस्था र प्याडहरु कसरी सुरक्षितरुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी छ।’’ साथै उनले स्वास्थ्य क्षेत्रमा महिनावारीलाई ध्यानमा राखी स्थानीय सरकार र महिला स्वास्थ्य स्वयमसेविकाका संलग्नता हुन जरुरी भएको औल्याएका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १५ गते विहीवार ।