काठमाडौं। घर मानिसको पहिलो पाठशाला हो भने आमा पहिलो शिक्षिका, महिला सृष्टिकर्ता अनि सभ्यताकी जननी हुन् । महिलाको भूमिकालाई परापूर्वकालदेखि नै महत्व दिदै आएको छ। जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वर पनि खुशी हुन्छन् भन्ने भनाई व्यापक छ, तर व्यवहारमा नेपाली समाजले यो भनाईलाई आत्मसाथ गरेको पाइदैन।

एक्काइसौ शताब्दीमा पनि नेपालमा महिलामाथि अनेकौं विभेद कायमै छ, उनीहरुलाई घरको चौघेराबाट सजिलैसंग बाहिर निस्कन दिदैन। अझ खतरनाक कुरा त यो छ कि–उनीहरुलाई भोग्य वस्तुको रुपमा चित्रित गरिन्छ। आज पनि कुना कन्दरामा रहेका धेरै महिला स्वतन्त्रता, समानता अनि शिक्षाबाट वञ्चित छन्। विश्वका अन्य देशका महिलाहरुले विकासमा ठूलो फड्को मारिसकेको अवस्थामा आज पनि हाम्रो देशका महिलाहरु दोश्रो दर्जाका नागरिकका रुपमा बाँच्न बाध्य छन्। कमजोर शिक्षाकै कारण महिनावारी अर्थात् रजस्वला जस्तो अति संवेदशिल अवस्थामा पनि महिलालाई कसैले छुनु हुँदैन, घरमा राख्न हुदैन भन्ने जस्ता रुढीबाढी परम्परा अंगालेर गुफा ,वडार तथा गोठमा राख्ने चलन कायमै छ।

महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन्। यद्यपि हाम्रो समाजमा यौन तथा प्रजनन्का विषयमा महिलाहरु उति सारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकास संगै यसबारेका अन्धविश्वासता, गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदैआएको छ। प्रजनन् उमेर समूहरुका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो। तर, यही रजस्वलाको विषयमा पनि विभिन्न नकारात्मक मान्यताहरु छन्।

भर्खरको बालिका देखि विवाहिता महिलाले कम्तिमा ५ दिनसम्म घर बाहिर अलग्गै बस्नुपर्ने, पधेंरा प्रयोग गर्न नपाउने,गोरस खान नपाउने, फलफूलका बोट छोएमा खप्की सहनु पर्ने, कसैलाई छोएमा दुर्वाच्य सुन्नु पर्ने। रजस्वला भएका महिलालाई दाउरा, घाँसपात र ओखल कुट्ने जस्ता भारी कामहरु मात्र गर्नुपर्छ भन्ने रुढीवादी मान्यता नेपाली समाजमा अझै कायमै छ । कतिपय स्थानमा अविवाहित महिलाले ७ दिन सम्म छाउपडी गोठमा बस्नु पर्छ भने छात्राले महिनावारी भएका बेला बिद्यालय जाने गरेका छैनन्। रजस्वलाका बेला महिलाले भोग्नु पर्ने यस्ता खालका समस्या धेरथोर नेपालभर कायमै छ शहरमा होस् या गाउँमा।

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको कुरा हो। हाम्रो समाजमा अहिले पनि यसलाई पूर्व जुनीको पाप,नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिइन्। महिनावारी महिलाको लागि खुशीको कुरा हो र म प्रजनन्का लागि सक्षम छु भन्ने प्रमाण पनि हो। किशोर अवस्थामा महिनावारीका कारण कतिपय स्कुलिय किशोरीहरुले मनमा डर,चिन्ता तथानिराशा समेत लिनु पर्ने अवस्था आउँन सक्छ। र कतिपय अवस्थामाहिनतावोध समेत आउँछ। त्यसकारण यस्तो अवस्थामा हरेक अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनु पर्ने र पाका महिलाहरुले ख्याल गर्नुपर्ने आवश्यक छ। रजस्वला एक प्राकृतिक, नियमित र स्वभाविक प्रकृया हो, जुन महिलाको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको छ ।

त्यसकारण यस्तो अवस्थामा महिललाई मानसिक दवाब दिनु हुँदैन । पर्याप्त सरसफाई, नियमित व्यायाम र सन्तुलित भोजन दिनुपर्छ। यसका लागि महिनावारी सम्बन्धि समाजमा व्याप्त नकारात्मक धारणा र सोचलाई बदल्नु हरेक तह र तप्काबाट सचेजना फैलाउन खाँचो छ । यसै विषयमा धुलिखेल अस्पतालका Department of Obstetrics and Gynecology Professor Doctor डा.आभा श्रेष्ठ संग नामी साप्ताहिक निर्देशक निशान बुढाथोकीले गरेको कुराकानीको सारसंक्षेप–

महिनावारी भनेको के हो ?
-महिनावारी भनेको महिलाहरुको शरीरबाट अथवा योनीबाट निस्किने रगत हो। हरेक महिनामा उमेर पुगेको वा वयस्य भइसकेको महिलाहरुकोे शरीर बाट रगत निस्किन्छ । महिला वयस्क भइसकेपछि हरेक महिना डिम्बाशयबाट अण्डा निस्किछ। अण्डा निस्किने क्रममा हाम्रो शरीरमा हर्मोनल परिवर्तनहरु हुन्छ। त्यही हर्मोनल परिवर्तनले हाम्रो पाठेघरलाई पनि असर गर्छ। त्यही कारण हरेक महिना महलिाको योनीबाट रगत बग्छ, त्यसैलाई हामी महिनावारी भन्छांै। यो प्रायः २८ दिनको हुन्छ । तर सबैको २८ दिन हुन्छ नै भन्ने छैन, २१ देखि ३५ दिन भित्र भएमा पनि यसलाई नर्मल नै मान्छौं।

त्यसो भए यो महिनावारी शुरु र अन्त्य हुने उमेर पनि होला नि होइन ?
-नेपालको परिपेक्षमा भन्ने हो भने सामान्यतया साढे ११ वर्ष देखि नै केटी बच्चाहरुमा यो महिनावारी शुरु हुन्छ। कहिलेकाही यो अलि अगाडि पनि हुन्छ। जस्तै १० वर्ष भन्दा अगाडी अथवा ८ वर्ष भन्दा अगाडि त्यस्तो भयो भने अलि असामान्य नै मानिन्छ। महिनावारी चाहि उमेर हुँदासम्म भइ नै रहन्छ। नेपालको परिपेक्षमा लगभग ४७ वर्ष र संसारको तथ्यांक हेर्ने हो भने लगभग ५१ हुन्छ । ठाउँ हेरेर पनि फरक हुन्छ। महिनावारी रोकिने अवस्था पनि हुन्छ, प्रग्नेन्सीको बेला, हर्मोन परिवर्तन भएर, थाइरोडले गर्दा, कुनै इन्फेक्सन, टिभि लागेमा, पाठेघरमा ट्यूमर देखिएमा पनि नियमित महिनावारी नहुने हुन्छ।

महिनावारी भएको अवस्थामा कस्तो खालको खानेकुरा खानुपर्छ ?
-महिनावारी भनेको शरीरमा आफै हुने र प्राकृतिक कुरा हो । यो हुनै पर्छ यो राम्रो कुरा हो। जुन बेला महिलाको शरीरबाट रगत बगेको हुन्छ , त्यही बेला महिलालाई झन पोषण बढ्ने खाना खानु पर्छ । रगत बढ्ने खानेकुरा खानुपर्छ। हरेक महिना महिनावारी हुँदा हाम्रो शरीरबाट ३० देखि ८० एम एल रगत जान्छ। त्यसकारण यस्तो अवस्थामा माछा, मासु, अण्डा, फलफूल प्रसस्त मात्रामा खानुपर्छ। प्रसस्त मात्रामा पोषण युक्त खानेकुरा नखादा अझ बढ्ने उमेरका छोरी बच्चाको शारिरीक विकास पनि राम्रो संग हुन पाउँदैन ।

महिनावारी हुँदा सरसफाइमा कतिको ध्यान दिनु पर्छ ?
-यस्तो अवस्थामा सरसफाईमा धेरै नै ध्यान दिनुपर्छ। यो अवस्थामा पाठेघरको मुख खुला हुन्छ। रगत बगिरहेको हुन्छ । त्यसकारण सफा राखेनौ भने इन्फेक्सन हुन्छ । दिनदिनै नुहाउनु पर्छ। आजकल त प्रायः महिला दिदी बहिनीहरु प्याड प्रयोग गर्नुहुन्छ। प्याड महंगो हुन्छ भनेर बिहान देखि बेलुका सम्म एउटै प्रयोग गर्नु हुँदैन । कुनै पनि प्याड दिनमा कम्तिमा ४ पटक फेर्नु नै पर्छ। अथवा भिज्यो भने त्यो भन्दा अगाडि नै फेर्नु पर्छ। यदि कपडा नै प्रयोग गरेको छ भने पनि फेर्नु पर्छ । सफा संग धुने, घाम पर्ने ठाउँमा सुकाउने। मान्छेले देख्छन् भनेर ओझेल पर्ने ठाउँमा सुकाउनु हुँदैन । किटाणु मोर्ने गरेर घाममा सुकाउनु पर्छ।

 कतिपय दिदि बहिनीको धारणा यस्तो छ कि प्याड राम्रो हुन्छ ,अनि कतिपयको धारणा कपडा नै राम्रो हुन्छ भन्ने छ, खासमा के राम्रो हो त ?
-खासमा भन्नुपर्दा यी दुवैमा यो राम्रो हो भनेर म भन्दिन । प्याड भनेको फेरि फेरि प्रयोग गर्न मिल्दैन। यदि बिहान देखि बेलुका सम्म एउटै प्याड प्रयोग गरियो भने त्यो बिल्कुल राम्रो हुँदैन। दिनमा कम्तिमा ४ पटक त फेर्नु नै पर्छ । त्यस्तै कपडा भनेको धोेएर फेरि फेरि प्रयोग गर्न मिल्छ। सुतीको कपडा प्रयोग गर्नुपर्छ । यसको अर्थ यो होइन कि बिहान देखि बेलुका सम्म एउटै प्रयोग गर्ने । राम्रो संग धोएर घाममा सुकाउने र सुख्खा ठाउँमा पट्याएर राख्नुपर्छ। यसकारण प्याड पनि र कपडा दुवै राम्रो हो ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नुको कारण के हो ?
-पहिलो दिनमा पेट दुख्नु नर्मल हो । किनभने महिनावारी हुँदा पाठेघर खुम्चिन्छ । त्यहाँ भित्र भएको रगत बाहिर निस्किन्छ । त्यसकारण दुख्छ । महिलाको दुईवटा डिम्बाशय हुन्छ । त्यसबाट अण्डा निस्किन्छ, त्यसकारण पेट दुख्छ, अर्को चाँहि भित्र रहेको रगत बाहिर निस्कने क्रममा एकछिन दुख्छ, एकछिन कम हुन्छ भने यो नर्मल हो, यो पहिलो दिनमा दुख्छ। यदि महिनावारी शुरु हुनु भन्दा अगाडि र महिनावारी भइसकेपछि पनि दुख्यो भने यो अन्य रोगको संकेत हो भनेर बुझ्नु पर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिएर उपचार गर्नु पर्छ ।

महिनावारी हुँदा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ?

-वास्तवमा भन्ने हो भने यो महिलाको आफ्नो इच्छाको कुरा हो । मैले अघि पनि भनिसके महिनावारीको समयमा पाठेघरको मुख खुला हुन्छ । यस्तो बेला इन्फेक्सन हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा कतिपय महिलाहरु आफूलाई सहज महसुस गदैनन् । महिला आफैमा भर पर्ने कुरा हो ।

 महिनावारी हुँदा कति महिलालाई कम रक्तश्राप हुने र कतिपयलाई धेरै रक्तश्राप हुनुको कारण के होला ?
-महिनावारी हुँदा सामान्यतया ३ देखि ७ दिनसम्म रगत बग्नु नर्मल हो । तीन दिन सम्म बग्छ र त्यसपछि कम हुँदै जान्छ । ३ दिन भन्दा कम हुनु सामान्य होइन र ७ दिन भन्दा बढी हुनु पनि सामान्य होइन । केही समस्या छ भनेर बुझ्नु पर्छ । पाठेघरमा ट्युमर छ या केही समस्या छ भनेर बुझ्नु पर्छ । यस्तो अवस्थामा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

नियमित महिनावारी नहुनु के बाँझोपनको संकेत हो त ?
महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनु नर्मल हो । २८ दिनमै महिनावारी हुनुपर्छ भन्ने छैन । तर आजकलको मुख्य समस्या भनेको पिसिओएस हो । यसले हर्मोनको डिसब्यालेन्स गर्छ । जसले गर्दा नियमित महिना महिनामा अण्डा निस्किनु पर्ने, ननिस्कएपछि त्यसले केही हदसम्म बाँझोपनको समस्या त निम्त्याउन सक्छ ।

 महिनावारी नियमित गराउने घरेलु उपायहरु छन् त ?
-नियमित महिनावारी नहुने कारण के हो सबैभन्दा पहिला पत्ता लगाउनु पर्छ । आजभोली ठूलो समस्याको रुपमा रहेको भनेको पिसिओएस भन्ने छ । यो भनेको हर्मोन परिवर्तन हो । जस्तै महिलाको अनुहारमा कपाल उम्रिनु, जुँगा दाह्री आउनु, मोटो हुँदै जानु ,कपाल झर्दै जानु, पिम्पल आउने जस्ता समस्या देखिन सक्छ । यस्तो अवस्थामा जंक फुड नखाने, नियमित व्यायाम, आराम गर्दा नियमित महिनावारी हुन्छ। सन्तुलित भोजन खाने जसले गर्दा धेरै समस्या समाधान हुन्छ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल भाद्र ५ गते शनिवार ।