https://www.youtube.com/watch?v=2vNqqnFIpO4&t=385s

–सुनकुमार अवाल
काठमाडौं। हिन्दू संस्कारमा ब्रतहरुमध्येको श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । काठमाडौंको पूर्वीक्षेत्र साँखुस्थित सालीनदीमा श्रीस्वस्थानी ब्रतको एक महिने मेला यो बर्ष फागुन ४ गते बुधवार समापन भएको छ।

एक महिनासम्म साँखुको सालीनदीमा अत्यन्त श्रद्धाका साथ श्रीस्वस्थानीको मेला लाग्ने गर्दछ । यो बर्ष र अघिल्लो बर्ष कोभिड–१९ को कारण ब्रतालु तथा भक्तजनहरुको कमी भएतापनि सालीनदीको मेलाको आकर्षणमा भने कुनै कमी नभएको र यसको आस्थामा पनि कमी नआएको स्थानीयको भनाई छ।

श्रीस्थस्थानी व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा श्रीस्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन प्रारम्भ भएको हो।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिएको छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन श्रीस्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा श्रीस्वस्थानी व्रतकथा प्रचलित हुँदैछ ।

https://www.youtube.com/watch?v=2vNqqnFIpO4&t=385s

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल फागुन ७ गते शनिवार ।