काठमाडौं। काठमाडौं महानगरभित्र सार्वजनिक शौचालयको अत्यन्त महत्व र आवश्यकता छ। यसको महत्व र आवश्यकताका वारेमा धेरै नै बहस भैरहेको छ।

यस संवन्धमा काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगरभित्र स्मार्ट शौचालयको अवधारणा ल्याइसकेको छ।

त्यसको कार्यान्वयनमा महानगरपालिका क्रियाशील रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई रहेको छ।

यस सन्दर्भमा नेपालका लागि क्यानडाकी उप–राजदूत सोयङ पार्कले पनि सार्वजनिक शौचालयको बारेमा चासो राखेकी छन्। काठमाडौंको मध्यभागमा रहेको रत्नपार्क स्थित सार्वजनिक शौचालयको क्यानडाकी उप–राजदूत पार्कले अवलोकन भ्रमण गरेकी छन्।

उप–राजदूत पार्कले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको बुधवार अवलोकन गरेकी हुन्। क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसानका राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले शौचालयको सबै संरचनाको संवन्धमा उप–राजदूतलाई जानकारी दिएका थिए।

उप–राजदूत पार्कले मानवमल मूत्रबाट ग्यास निकालेर प्रयोग गरेको प्रविधिलाई गहिरिएर अध्ययन गरेकी थिइन् । यस्तै महिलामैत्री शौचालय देखेर खुशी पनि व्यक्त गरेकी थिइन् ।
झण्डै आधा घण्टाको बसाईमा उप–राजदूत पार्कले रत्नपार्कमा मात्र रहेको महिलामैत्री शौचालयलाई अन्यत्र पनि विस्तार गर्नुपर्ने सुझाव दिएकी थिइन्।

सरकार तथा उपभोक्ताबाट समेत अपहेलनाको दृष्टिले हेरिने शौचालयमा क्यानेडियन राजदुतावासबाट भएको भ्रमणलाई अर्थपूर्ण तथा महत्वका साथ सवैले हेरेको छ। एरोसानका राष्ट्रिय प्रतिनिधी अमात्यका अनुसार, भविष्यमा शौचालयको बिस्तारका लागि क्यानेडियन सरकारको योगदान हुन सक्ने धेरै संभावना देखिएको छ।

वीर अस्पतालको अघिल्तिर रहेको सार्वजनिक शौचालय अघिल्लो बर्ष एरोसान र गुथिको आर्थिक तथा प्राविधिक सहयोगमा सुधार गरिएको हो । कुनै समय लागुपदार्थको दुर्व्यसनीमा फसेका मानिसहरुको आश्रय स्थल बनेको यो शौचालयमा अहिले बायोग्याँस जडान गरिएको छ।

महिलामैत्री शौचालयमा स्यानिटरी प्याड फेर्ने र विसर्जन गर्ने व्यवस्था मिलाएको छ भने अपांगता भएकाका लागि बेग्लै शौचालयको व्यवस्था गरिएको छ । शौचालयमा सेन्सर लाइटको व्यवस्था गरिएको छ भने छानोमा भेन्टिलेसनको व्यवस्था गरिएको छ।
प्रकाशन मिति–२०७५ साल माघ १७ गते विहीवार ।