Raprapaकाठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचन घोषणा एकैपटक हुने बताएका छन्।

प्रधानमन्त्री दाहालले संविधान जारी गर्ने बेलाकोजस्तै परिपक्वता अहिले देशले खोजेको बताए। संविधान कार्यान्वयनमा सहयोग गर्न राप्रपासँग आग्रह गर्दै राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ने प्रधानमन्त्री दाहालको दाबी थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले सधैं व्यवस्थाका लागि लडेको भन्दै ‘कांग्रेस सिध्याउँछु भन्दै हिँड्नेहरुसमेत त्यही व्यवस्थालाई आत्मसात् गर्न बाध्य भएको’ बताए। महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राष्ट्रवादी शक्तिकोरुपमा एमाले र राप्रपामात्र रहेको जिकिर गरे।

Raprapa.1

राप्रपासमेत सहभागी आफू नेतृत्वको सरकारले मुलुकमा निकै राम्रो काम गरेको ओलीको बोली थियो । राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दूधर्म र संवैधानिक राजतन्त्र बोक्ने उदघोष गर्न चुकेनन्।

Raprapa.2

अध्यक्ष थापाले राष्ट्रियतालाई बलियो बनाउन राजतन्त्र आवश्यक रहेको भन्दै राप्रपाले लोकतन्त्रसहितको राजसंस्थाको वकालत गर्ने जिकिर गरे। कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेता पशुपतिशमशेर राणाले राप्रपाले चुनाव चिन्हकोरुपमा हलो नै बनाउनुपर्ने धारणा राखे।

राप्रपाका अर्का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राप्रपाले समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार, तमलोपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी, माले महासचिव सीपी मैनाली, सद्भावनाका सहध्यक्ष लक्ष्मणलाल कर्णलगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रबार।