काठमाडौं। नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् । डंगोललाई नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा बागमती प्रदेशका लोकप्रिय सांसदहरु डा.अजयक्रान्ति शाक्य र राजेश शाक्यले फूलमालाले स्वागत गरेका थिए।

पार्टी प्रवेशसँगै विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको भन्दै डंगोललेअसन्तुष्टि व्यक्त गरेका छन्।

‘डंगोलले भनेका छन्, ‘मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिदैँ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड ध्रुवनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु,’ उनले भने, ‘मेरो राजनीतिको सुरुवाती चरणमा काम गरेको पार्टी नेकपा (एमाले)मा आज करीब १८ वर्षपछि फर्किदैँ गर्दा म अत्यन्त उत्साहित मात्रै भएको छैन।

समकालिन राजनीतिका चर्चित व्यक्तित्व कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण गर्दछु।’

प्रकाशन मिति–२०७९ साल बैशाख १६ गते शुक्रवार ।