Maobadi Kendra Head Quater Perish Danda, Koteswar, Kathmandu.
Maobadi Kendra Head Quater Perish Danda, Koteswar, Kathmandu.

काठमाडौ। नेकपा माओवादी केन्द्रको काठमाडौको कोटेश्वर पेरिसडाँडास्थित मुख्यालय बहिर्गमनमा परेका पूर्वमाओवादीहरुले कब्जा गरेका छन्। काठमाडौवाट प्रसारित इमेज समाचार अनुसार,सोमबार दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर कब्जा गरेका हुन्।

गत शनिबार र आइतबार राजधानीमा भएको बहिर्गमित लडाकुहरुको भेलाले सातबुँदे माग राख्दै सोमबादेखि पार्टी मुख्यालय कब्जा गर्ने निर्णय गरेको थियो। पार्टी पटक–पटक सरकार पुग्दासमेत आफूहरुको माग पूरा नभएको भन्दै उनीहरुले अब पनि बेवास्ता गरे भौतिक कारबाहीमा उत्रने चेतावनी पनि दिएका छन्। सयौंको संख्यामा रहेका बहिर्गमित पूर्वलडाकुहरु बालबच्चासहित नै बसेका छन्। मूलगेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्न पनि दिएका छैनन्।

maobadi-kendra-head-office-1आफूहरुको रगत–पसिनामा टेकेर नेतृत्वले महल ठड्याएको भन्दै पूर्वलडाकुहरुले कलिलो उमेरमा युद्धमा होमेर आफूहरुको भविष्य अन्धकार बनाएको बताएका छन्। निःशर्तरुपमा ‘अयोग्य शब्द’ हटाउनुपर्ने, पूर्वलडाकुहरुले पाएसरहको दीर्घकालीन व्यवस्था गर्नुपर्ने, आफूहरुको बालअधिकार हनन् भएकाले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्नेलगायतका सातओटा माग उनीहरुले अघिसारेका छन्।

माओवादी लडाकुको व्यवस्थापनको जिम्मा लिएको राष्ट्रसंघीय निकाय ‘अन्मिन’ले ४ हजार ९ जनालाई लडाकुको दर्जा दिन नमिल्ने भन्दै शिविरबाट बाहिर निकालेको थियो। जसमध्ये अधिकांश उमेर नपुगेका किशोर–किशोरीहरु थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक २२ गते सोमवार ।