काठमाडौं। नेपालको संविधान अनुसार मातृभाषा शिक्षामा योगदान दिने नेपालको पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई भव्य सम्मान गर्ने भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई मातृभाषा शिक्षामा योगदान दिएवापत भव्य सम्मान गर्न लागेको हो।

नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाका अध्यक्ष अर्बिन्द्रमान सिंहव्दारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरको भव्य सम्मान चैत्र २८ गते शनिवार काठमाडौंमा हुने भएको छ।

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नेपालभाषाको माध्यमवाट मातृभाषा शिक्षालाई अनिवार्य अध्यापन गराउनु पर्ने विधान ल्याएर काठमाडौं चिनौं पाठ्यपुस्तक नै सार्वजनिक गर्ने चौतर्फी उल्लेखनीय कार्य गरेवापत मेयर शाक्य तथा उपमेयर श्रेष्ठलाई भव्य सम्मान गर्न लागेको जनाइएको छ। जसमा नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखालाई विभिन्न संघ–संस्थाले पनि साथ दिने भनिएको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र ६ गते शुक्रवार ।