काठमाडौ। नेपालको मातृभाषामा पत्रकारिताका गर्ने नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माकार नै हो। मातृभाषाको पत्रकारिताको पहिलो पत्रकारको रुपमा धर्मादित्य धर्माकारलाई नै मान्नुपर्ने र उनलाई राज्य र सरकारले मान्यता दिनुपर्ने सवाल तथा बहस भएको छ।

९३ बर्षअगाडि मातृभाषामा पत्रकारिताका गर्ने धर्मादित्य धर्माकारलाई संझ्दै बुधवार मातृभाषा पत्रकारिताको विकास विषयमा विशेष कार्यक्रम भएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा मातृभाषा पत्रकारिता सम्मेलन भएको हो।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा ‘मातृभाषा पत्रकारिता सम्मेलन’ मा वक्ताहरुबाट मुलुकभित्र प्रचलित विभिन्न मातृभाषाको उन्नयनका लागि मातृभाषा पत्रकारिता आवश्यक रहेको र यसको प्रवद्र्धनका लागि सरकारबाट उदार सहयोग हुनुपर्ने स्वागत भाषणका क्रममा आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताएका छन्।

दबूका सचिव सुनिल महर्जनले कार्यक्रमको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए। नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा २६ मातृभाषामा पत्रकारिता गर्ने पत्रकारहरुको बृहत उपस्थिति रहेको थियो।

आठ मातृभाषाका प्रतिनिधि सञ्चारकर्मीहरुबाट पत्रकारिता, भाषा र लिपिबारे कार्यपत्रहरु प्रस्तुत भएका थिए। कार्यक्रममा ३ नंबर प्रदेशका प्रदेश सभासद राजेश शाक्यको पनि विशेष उपस्थिति थियो।


प्रकाशन मिति–२०७५ साल जेठ २ गते बुधवार ।