शहरी होमस्टेको नयाँ अनुभव 

मौलिक परिकारको अनुपम स्वाद
काठमाडौं। आमा पछि मामा प्राय सवैको लागि प्यारो हुने गर्दछ। यो प्यारो मामाघरमा जानुको मज्जा नै बेग्लै हुन्छ। त्यो प्रायले अनुभव गरेको कुरा हो। मामाघरमा मामा–माइजुको माया तथा स्नेह जिन्दगीको अनुपम अनुभव नै हो।

त्यसमाथि, मामाघरमा मौलिक परम्पराअनुसार भाञ्जा–भाञ्जीलाई खुवाइने परिकार तथा स्वागत त भाग्यमानी भाञ्जा–भाञ्जीको लागि अविस्मरणीय नै हुने गर्दछ। त्यसरी अविस्मरणीय बनाउने कार्य सवैको मामा भनेर चिनिएका गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित देशे गाउंका कृष्ण श्रेष्ठले गरेका छन्।

प्रसिद्ध तथा ऐतिहासिक गोकर्ण मन्दिरको पछाडि देशे गाउंमा मामाघर होमस्टे संचालनमा ल्याएपछि उक्त मामाघर होमस्टेमा आउने प्राय सवैले कृष्ण श्रेष्ठलाई मामा तथा सबला महर्जन श्रेष्ठलाई माइजु भनेर सम्मान दिन थालिएको छ। मामाघर होमस्टेमा आउने सवैलाई मामा–माइजुको स्नेह तथा मायालु वातावरण दिनका लागि मामा कृष्ण तथा माइजु सबलाले धेरैभन्दा धेरै मेहनत गरेका छन्।

होटल म्यानेजमेन्टको डिग्री हासिल गरेपछि मामा कृष्ण आम नेपाली युवाहरु जस्तो विदेश पलायन नभइकन नेपालमा नै केही गर्नुपर्दछ भनेर मामाघर होमस्टे संचालन गरेर सवै युवाहरुको उदाहरण तथा प्रेरणा बनेका छन्। मामा कृष्णको अनुपम कार्यलाई कमर्शका डिग्रीहोल्डर माइजु सबलाले होस्टेमा हैंस्टे गरेर साथ दिएकी छन्। मामाघरलाई मामाघरको वातावरण दिनका लागि मामा कृष्ण र माइजु सबलाका सवै परिवारले साथ र सहयोग गरेका छन्।

शहरी वाताबरणको नयाँ अनुभव दिने होमस्टेको रुपमा विकास गर्ने कार्यमा मामा कृष्ण र माइजु सबलाको अथक मेहनत रहेको छ। होमस्टे भनेपछि गाउंघर तथा दूर्गम स्थानमा मात्र सिमित रहने गरेकोमा त्यो माहोल र परम्परालाई शहरी वातावतरणमा आधुनिक शहरी भाञ्जा–भाञ्जीको चाहना र आवश्यकतालाई मनन गरेर सहुलियत दरमा मामाघर होमस्टेको कन्सेप्ट ल्याउने कार्य मामा कृष्ण र माइजु सबलाले गरेका हुन्। यसै बर्ष विसं.२०७७ साल कात्तिक १५ गते मात्र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित देशे गाउंमा मामाघर होमस्टेको स्थापना गरिएको हो।

जहाँ परम्परागत नेपाली तथा नेवारी परिकारका स्वाद र सत्कार पाइने गर्दछ। त्यसको अलावा आधुनिक शहरीया भाञ्जा–भाञ्जीको चाहना वमोजिमका परिकार पस्कने कार्य पनि गर्ने गरिन्छ। सहुलियत दरमा सवै सुविधा रहेको अत्याधुनिक मामाघरमा पानी माथि बसेर खानाको स्वाद लिन पाइने विछट्टै रमाइलो वातावरण रहेको छ। अर्कोतर्फ, चराजस्तै आनन्दमय वाताबरणमा रम्नका लागि तीनवटा नेष्ट अर्थात गुँडको पनि व्यवस्था रहेको छ। त्यो नेष्टमा बसेर गोकर्णका रमणिय दृश्य तथा सुन्दर बागमती बहेको हेर्नको मज्जा नै बेग्लै हुने गरेको छ।

अर्कोतर्फ गोकर्णको परम्परागत परिवारमा नै बसेर होमस्टेको मज्जा लिन तथा पारिवारिक वातावरण खोज्नेहरुका लागि त्यो पनि व्यवस्था रहेको मामा कृष्णले भनेका छन्। त्यस्तैगरेर, होमस्टेमा प्राइभेसी खोज्नेहरुका लागि सहुलियत प्याकेजमा आरामदायी गेष्ट रुमको पनि व्यवस्था गरिएको जानकारी पनि मामा कृष्णले भनेका छन्।

हाइजेनिक मौलिक अर्गानिक स्वाद तथा परिकारको अलावा प्रत्येक शनिवार सांगीतिक माहोलको व्यवस्था पनि भएकोले मामाघरमा जानुको थप रोमाञ्चकता अनुभव गर्न सकिन्छ। शहरी व्यस्ततम् जीवनवाट थाकिएको जिन्दगीमा ऊर्जा दिने कार्य मामाघर होमस्टेको मौलिकता तथा परम्परागत आधुनिक सुविधा र आफ्नोपनको स्वादले दिने गर्दछ। जुन शहरी होमस्टेको अनुपम अनुभव हो।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल माघ १० गते शनिवार ।