काठमाडौं। मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरेको हो।

आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने हिन्दू धर्मको प्रचलन छ। अन्याय र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। श्रीकृष्ण जन्माष्टमीका दिन आज पाटनको मंलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण मेला लागेको छैन्। मन्दिर पनि बन्द गरिएको छ। सोमवार स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले पाटन कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने पुरातन प्रचलनलाई पनि यो बर्ष कोरोनाको कारण स्थगित गरिएको छ। घर–घरैमा श्रीकृष्ण भगवानको पूजाआराधना गरेर मनाउन सरकारले आव्हान गरेअनुरुप भएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २७ गते मंगलवार श्रीकृष्ण जन्माष्टमी ।