काठमाडौं। मिथिलाका महिलाहरुको महान पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ पूर्वी तराईका मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ नजिक पायक पर्ने पोखरी, नदी तलाव जलाशयमा स्नान गरेर भिजेकै लुगा लगाएर घिरौलाको पातमा जितुमाहन भगवानलाई तेल र खरी(पिना)चढाएर यो पर्वको विधिवत शुरुवात गरेका हुन। 

व्रतालु महिलाहरुले पर्वको दोस्रो दिन मंगलबार एकाविहानै सूर्य उदय अगावै घर आँगनमा च्युरा, दही, सखर, मिठा र अमोट पुनः चढाई आफू पनि खाने र आफना स–परिवारलाई समेत खुवाएर विहानैदेखि निराहार व्रत धारण गर्छन। तिज पछाडिको महिलाले मनाउने यो पर्व दोस्रो ठूलो चाड रहेको छ।

आश्विन कृष्ण अष्टमीका दिन विधिवत शुरु भएको जितिया पर्वमा मंगलवार उपवास बसेर तथा जिमुतवाहन देउताको कथा सुनेर जितिया पर्व मनाइने छ। अष्टमी तिथिमा यो पर्वको उपवास सुरु हुने र नवमीमा उपवास सम्पन हुने प्रचलन रहे अनुसार मिथिलानी महिलाहरु बुधवार विधिविधान पूर्वक जितिया पर्वको समापन गर्ने छन्।

हिन्दु धर्मावलम्वीहरुले उपवास गर्ने पर्व मध्येकै सबैभन्दा लामो उपवास बस्नुपर्ने र व्रतालुले थुक समेत निल्न नहुने र निराहार उपवास बसी ब्रतलाई खण्डित गर्न नपाउने नियम रहेकाले यस पर्वलाई मिथिलाञ्चलमा मनाइने कठोर व्रत मध्यको एक भन्ने गरिन्छ।

यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई मधेसका प्रत्येक गाउँ घर शहरका महिलाहरुले मनाउँछन्। पुत्रको सुख शान्ति चिरायुका लागि महिलालले उपवास र प्राचीण प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहि आएको छ। जितिया पर्व यस कारण पनि प्रसिद्ध छ की यसको नियम पूर्वक पूजा गर्नाले पुत्रका आयुमा वृद्धि हुने जनविश्वास पाइन्छ।

यस पर्वमा माछमरुवा र ओंगठनको विशेष महत्व रहेको छ। ओंगठन  एकाविहानै उठेर दहि च्युरा, मिठा र आमको अमोटलाई मिसाएर घरको पर्खालमा अडेस लागेर खाने कार्यलाई ‘ओंगठन’भन्ने गरिन्छ। जुन यस पर्वको मूख्य विशेषता पनि हो। प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।