काठमाडौ। नेपालको तराईको मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो।

Chhatha Parba 3

छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन्। पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ।

पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् । पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ। Chhatha Parba 1मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ।

मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढंगले सिंगारिएका छन् । जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौं पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ।

Chhatha Parba 2उता, छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरीद गर्न तराईका बजारमा भीड लागेको छ। खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नरिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ।  तस्वीर सौजन्य–कविन्द्रमान शाक्य

प्रकाशन मिति–२०७४ साल कात्तिक ७ गते मंगलवार ।