काठमाडौं। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको बिजनेस प्रमोसनमा मिस नेपाल श्रृंखला खतिवडा प्रयोग हुने भएकी छन्। मिस नेपाल खतिवडालाई यस कार्यका लागि राष्ट्रिय बाणिज्य बैंकले ब्राण्ड एम्बासडर नियुक्त गरेको हो।

बैंकले बुधवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिएका छन्। यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास श्रेष्ठको रहेको छ।

सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र मिस नेपालको आधिकारिक आयोजक दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरेका थिए। राष्ट्रिय बाणिज्य बैंकको बिजनेस प्रमोसनको लागि सदभावना दूत हुन पाउंदा आफूलाई अत्यन्त खुशी लागेको मिस नेपाल खतिवडाले हस्ताक्षर कार्यक्रममा बताएकी थिइन्।

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ। बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ। यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ।

गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ। विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो। बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ।

प्रकाशन मिति–२०७५ साल पुष १८ गते बुधवार ।