काठमाडौं। मिस वर्ल्ड प्रतियोगितामा यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन्। चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी विश्वका १ सय १७ देशका सुन्दरीलाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन्।

मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् । उनी आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन्।

यसअघि सन् २०१३ मा मिस नेपाल इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पज अवार्ड जितेकी थिइन् । श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।

प्रकाशन मिति–२०७५ साल मंसीर १८ गते मंगलवार ।