काठमाडौं। २४ बर्षको इतिहास वोकेको मिस नेपालको गरिमालाई यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले देखाएर चमत्कार नै गरेकी छन्। मिस वर्ल्ड प्रतिस्पर्धामा यतिखेर चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छन्।

यो सँगै उनी ‘हेड टू हेड च्यालेन्ज’ फाइनल राउन्ड टप–२० मा प्रवेश पाएकी छन्। समूह १३ मा रहेकी श्रृंखला ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। श्रृंखलासँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका हुन्। प्रतिस्पर्धामा सहभागी १ सय २१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।

श्रृंखला समूह १३ मा परेकी थिइन्। छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो। श्रृंखलाले त्यो सवालमा दिएको जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन्। मिस वल्र्डको फाइनलमा पुग्न अब उनले यो बिधाका २० प्रतिस्पर्धीलाई जित्नुपर्ने हुन्छ।

प्रकाशन मिति–२०७५ साल मंसीर १४ गते शुक्रवार ।