मुस्ताङ। उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ। साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो।

वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले भनेका छन्। करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्।

हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ। जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २७ गते विहीवार ।