काठमाडौं। नेपालको मुस्ताङ र हुम्ला दुई जिल्लामा मात्र कोरोना संक्रमित नभएको खुलासा भएको छ। अरु ७५ वटै जिल्लामा कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। मंगलवार भाद्र ९ गतेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले वताएका छन्। मृतकमा १ महिला र ६ पुरुष रहेका छन्।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा ८५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको हो। थपिएकामा काठमाडौं उपत्यकामा २ सय ३२ जना रहेका छन्।

जसमा काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, रुपन्देहीमा ६९, सर्लाहीमा ५८, रौतहटमा ४४ तथा धनुषामा ४२ जना संक्रमित थपिएका हुन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ। १५ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट मुक्त भएका छन्। योसंगै निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र ९ गते मंगलवार ।