काठमाडौं। रमदान (रमजान) महिना सकिएको खुशीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउने कार्य भैरहेको छ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ। तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ। ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भएपनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ। प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन्।

मुस्लिम समुदायको महान पर्व ईदुल फित्रको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिदै आपसी सदभाग, सहिष्णुता, भ्रातृत्व एव पारस्परिक सहयोग गर्न विभिन्न पर्वले प्रेरित गर्ने बताएका छन्।

ईदुल फित्रको शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा यस्ता पर्वले टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सृदृढ भई सम्भ, समुन्नत र समृद्ध समाज निर्माणमा ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
यस्तै प्रधानमन्त्री के पी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भनेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले विभिन्न धार्मिक तथा सास्कृति आस्था नेपालमा सम्मानित र संरक्षित रहेको भन्दै कोरोना संक्रमणको विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित ढंगले चाडपर्व मनाउन पनि आह्वान गरेका छन्। आज मुस्लिम समुदायको महान पर्वको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिइएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।