काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शुक्रवार शिलान्यास भएको छ। कुलदेवता घरको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्।

मेयर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता अमूल्य सम्पत्ति बचाउन कसैसँग आर्थिक सहयोगको अपेक्षा नगरिने काठमाडौं महानगरपालिका आफैले बनाउने भनेका छन्।

आफ्ना क्षेत्रमा भएका सम्पदा जोगाउने स्रोत महानगर आफैँले व्यहोर्ने जिकिर पनि मेयर शाक्यको रहेको छ। त्यसको लागि आवश्यकता भनेको सहयोग र सहभागिता रहेको मेयर शाक्यले बताएका छन्।

कुलदेवता भवनको निर्माणमा लाग्ने खर्च महानगरको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्ने पनि कार्यक्रममा जानकारी दिइएको छ। उक्त देवता घरमा विसं २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको थियो।
प्रकाशन मिति–२०७५ साल मंसीर ७ गते शुक्रबार ।