काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय कविता तथा गीतका मूर्धन्य स्रष्टा कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको ६१ बर्षको उमेरमा दुःखद निधन भएको छ।

काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा कवि तथा गीतकार विरहीको आज आइतवार अपरान्ह ४ बजे निधन भएको हो। अघिल्लो हप्ताको शनिवार स्वास्थ्यमा अचानक गंभीर समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएका विरहीको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

हप्तौ त्यसरी उपचार गरिदा समेत खासै स्वास्थ्यमा सुधार भएको थिएन। बेहोशी अवस्थामा नै निधन भएका विरहीलाई नर्भिकका डाक्टरहरुले पूर्ण होशमा ल्याउने प्रयास भएतापनि सफल हुन सकेन। लिभरको समस्यावाट पीडित विरहीलाई दुई बर्षअघि भारतको नयाँदिल्लीमा उपचार गराएर काठमाडौ ल्याइएको थियो।

दिल्लीमा रोग निराकरण नहुने देखेपछि परिवारले विरहीलाई स्वदेश ल्याएर नर्भिकमा उपचार गराउंदै आएको थियो। स्वास्थ्यमा केही सुधार आएको पनि थियो। केही दिनअघिसम्म आफूले रचना गरेको कविता तथा गीतको संग्रह हस्ताक्षर विमोचन गर्ने तयारीमा लागेका विरहीको स्वास्थ्यमा फेरि गंभीर समस्या उत्पन्न भएपछि त्यो इच्छामा बांधा भएको थियो।

पिताको त्यो इच्छालाई गगन विरहीको सुपुत्री एलिना श्रेष्ठले पिताको देहान्त हुनु २ घण्टाअघि मात्र पूरा गरिदिएकी छन्। नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरु दिनेश अधिकारी, डा.अभि सुवेदी, तुलसी दिवस, शैलेन्द्र साकार लगायतले विरहीको अन्तिम कृति हस्ताक्षरको नर्भिक अस्पताल परिसरमा नै विमोचन गरेका थिए।

हस्ताक्षर कृति विमोचनका संयोजक कवि तथा गीतकार डोलप्रसाद दाहालका अनुसार, विमोचनको दुई घण्टा पश्चात विरहीकी पत्नी कल्याणी श्रेष्ठलाई भेन्टिलेटरवाट निकाल्न हस्ताक्षर गर्न बोलाएको लगतै अपरान्ह ४ बजे नर्भिक अस्पतालले विरहीको निधन भएको घोषणा गरेको थियो।

संकल्प, बादल, झझल्को,घर–आँगन, मितेरी गाउं तथा शिखर लगायतका चलचित्रका निर्माता तथा निर्देशक समेत रहेका विरही लामो समय अमेरिका बस्दैआएका थिए। सात बर्ष अगाडि मात्र नेपाल फर्केर चलचित्र तथा साहित्यको नियमित कार्यमा फर्केर विरही रमाउंदै आएका थिए।

विरहीको तिमीलाई अचेल कहाँ भेटुँ, अधुरो लाग्यो अपुरो लाग्यो, आँधीसंग खेल्नुपर्छ,लगायतका सयौं गीत चर्चित रहेको छ। विरही नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन्।
प्रकाशन मिति–२०७५ साल असोज १४ गते आइतवार ।