काठमाडौ। अमेरिकी संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले ल्याएको छ।

US President Donald Trump

मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट सांसदसँग छलफल गर्ने भएको छ ।

सोमबार ल्याइने विधेयकमा मेक्सिकोको सीमामा पर्खाल लगाउन २५ बिलियन डलर माग गरिने ह्वाइटहाउसका नीतिप्रमुख स्टीफन मिलरले रिपब्लिकन सांसदसँगको सामूहिक टेलिफोन वार्तामा जानकारी दिएका हुन् ।

संसद यो रकम दिन राजी भएमा १८ लाख व्यक्तिलाई १०/१२ वर्षमा नागरिकता प्रदान गरिनेछ । यद्यपि, डेमोक्रेट यस योजनाको सख्त विपक्षमा रहेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले प्यालेष्टायनलाई दिइदै आएको वित्तीय र सुरक्षा सहयोग रोक्ने धम्की दिएका छन् । प्यालेष्टायन शान्ति वार्ताका लागि तयार नभएमा वित्तीय र सुरक्षा सहयोग रोक्ने ट्रम्पको चेतावनी छ ।

स्वीट्जरल्याडको दावोसमा वल्र्ड इकोनोमी फोरममा बोल्दै ट्रम्पले अमेरिकाले प्यालेष्टायनलाई करोडौं डलर दिँदै आएको तर अब शान्ति वार्ताका लागि ऊ तयार नहुँदासम्म पैसा नदिने घोषणा गरे । ट्रम्पले अब प्यालेष्टायन र इजरायलबीच सायदै शान्ति वार्ता हुन सक्ने भन्दै आशंका पनि व्यक्त गरे ।

दुई देशबीच शान्ति वार्ता गराउन अमेरिकाले चाहे पनि प्यालेष्टायनले भने इजरायललाई काखी च्याप्ने नीति रहँदासम्म शान्ति वार्तामा नबस्ने जनाइसकेको छ।

ट्रम्पले जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएपछि रुष्ट प्यालेष्टायनी राष्ट्रपति मोहमूद अब्बासले त यो निर्णय शताब्दी थप्पड भएको टिप्पणी गरेका छन्।
(समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७४ साल माघ १२ गते शुक्रबार ।