चितवन। दुई दशकभन्दा पनि पुराना तथा चर्चित गायक पुन्यम प्रधानले आफ्नो प्रतिबिम्ब समूहको दुई हिट गीत गाएर फेरि चर्चामा पुगेका छन्। रोटरी क्लव अफ नारायणगढको आयोजनामा असार २ गते शनिवार आयोजित मेगा म्युजिकल नाइटमा प्रतिबिम्बका दुई हिट गीत रित्तो सडक र कहाँ तिम्रो मायालुलाई छाडी आयौ गायक प्रधानले गाएका हुन्।

उही सुमधुर स्वर तथा सवैको मनै तरंगित पार्ने धुनमा गायक प्रधानले ती दुवै गीत गाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए। चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम अन्तर्गत मेगा म्युजिकल नाइट भएको पनि गायक पुन्यम प्रधानले भिजन संसारलाई बताएका छन्।

मेगा म्युजिकल नाइटमा नेपाली पप संगीतका हस्तीहरूले आफ्नो सदावहार सुपर हिट गीत प्रस्तुत दिएका छन्। साधारणतया कन्सर्टहरू कमर्सियल हुने र आफ्नो प्रस्तुति बापत पारिश्रमिक लिने भए पनि यस कार्यक्रममा संकलित रकम चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका निम्ति सहयोग भएकोले पनि कसैलेपनि पारिश्रमिक नलिएको गायक प्रधानले भनेका छन्।

सेन्ट्रल पाल्म होटल, नारायणगढमा भएको कार्यक्रममा पुन्यम प्रधानका अलावा नेपालका ख्यातिप्राप्त सांगीतिक हस्तिहरु गायक हरिश माथेमा, बबिन प्रधान, संजय श्रेष्ठ, भीम तुलाधर, जेम्स प्रधान, सचिन रौनियार, ज्योति घिमिरे, कविन्द्र श्रेष्ठ (स्काई ब्यान्ड), रबिन महर्जन, विश्व प्रधान, उदेश श्रेष्ठलगायतले एक से एक बेजोड आगो बाल्ने प्रस्तुति दिएका थिए।
प्रकाशन मिति–२०७५ साल असार ४ गते सोमवार ।