काठमाडौं। काठमाडौंमा दिनप्रतिदिन ट्राफिक जाम हुनुको प्रमुख कारणमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरुले अनावश्यक पार्क गरेर यात्रु कुर्ने पनि प्रमुख हो। यसले गर्दा बढी भन्दा बढी रत्नपार्क, भद्रकाली, शहीदगेट वरपर ट्राफिक जाम हुने गरेको ठहर गरिएको छ।

अव आउने पुष १ गते देखि पहिलो चरणको रुपमा यी स्थानमा यात्रुवाहक सवारी साधनहरुले यात्रु त्यसरी कुर्न नपाउने र पिकअप एण्ड ड्रप मात्र गर्न पाउने भएको छ। त्यसपछि बढीभन्दा बढी ट्राफिक जाम हुने स्थानमा पिकअप एण्ड ड्रप मात्र व्यवस्था गर्ने सिस्टम शुरु हुने भएको छ।

यसको लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पहलमा यस संवन्धी संयन्त्र निर्माण भएको छ। यस संयन्त्रले काठमाडौं महानगरमा पिकअप एण्ड ड्रप सिस्टमको विकास गरेर काठमाडौं महानगरलाई ट्राफिक जाममुक्त शहर बनाउने योजनामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य अत्यन्त क्रियाशील बनेका छन्।

मेयर शाक्यको क्रियाशीलतामा यस क्षेत्रका संवन्धित निकायले साथ दिने सोमवार काठमाडौं महानगरपालिकाको सभागृहमा मेयर भेटघाट कार्यकक्षमा आयोजित कार्यक्रममा ऐक्यबद्धता व्यक्त गरेका छन्। उनीहरुले एक हप्ताभित्र त्यसको तयारीको लागि अध्ययन पूरा गरेर पुष १ गतेवाटै पिकअप एण्ड ड्रप सिस्टम लागू गर्ने भएका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडौं महानगरपालिकाकै सह–सचिव डा.टोकराज पाण्डे, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकाल, महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा, काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेत, सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट, नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी लगायतको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७५ साल मंसीर १९ गते बुधवार ।