ललितपुर । ललितपुर महानगरपालिकाको कार्यपालिका बैठकवाट पारित नगरिकन मेयरको मनोमानी विरुद्ध दुई तिहाई कार्यपालिका सदस्यहरुले १२८ औं कार्यपालिका बैठकमा विरोध गरेको छ।

शुक्रवार पाटनको यल दरवारमा आयोजित कार्यपालिका बैठकको नेकपा एमाले तथा माओवादीवाट निर्वाचित कार्यपालिका सदस्यहरुले मेयर चिरिवावु महर्जनको मनोमानी विरुद्ध असहमति जाहेर गर्दै बैठकमा विरोध गरेको हो।

मेयर चिरिवावु महर्जनको मनोमानी विरुद्ध असहमति जाहेर गर्दै कार्यपालिका बैठकमा दस्तखत नगरिकन गर्न मौन रुपमा बहिस्कार गर्ने कार्य भएको ललितपुर महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन देखि ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनसम्मको भनाई छ।

ललितपुर महानगरपालिकामा मेयर महर्जनले गरेको धेरै निर्णयमा असहमतिलाई विगत चार बर्षदेखि सहेर आएको र अव भने ज्यादै नै असह्य भएर असहमति जनाउंदै विरोध गरेको जानकारी वडा नंबर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले बताएका छन्।

मेयर महर्जनले गर्ने प्राय सम्झौता तथा कार्यहरुको कार्यपालिका सदस्यहरुलाई जानकारी नदिइकन र कार्यपालिका बोर्ड बैठकवाट निर्णय नगरिकन बारम्बार कार्य गर्ने गरेको कारण आफूहरुको असहमति र असन्तुष्टि रहेको जिकिर ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको रहेको छ।

नियमानुसार, बोर्ड बैठकवाट निर्णय गरेर कार्यन्वयन गर्न र गराउन आवश्यक छ भनेर वडा अध्यक्ष श्रेष्ठले वताएका छन्। महानगरवासीको हक, हित र अधिकार अनि सुविधाको लागि हरदम आफूहरु प्रयत्नशील भएको र कानूनसंवद्ध कार्यको जहिले पनि आफूहरुले समर्थन गर्ने गरेको तर, कानून तथा नियमविपरित कार्यको मात्र विरोध गरेको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

वोर्ड बैठकमा उपस्थिति भएर पनि २६ जना कार्यपालिका सदस्यहरुले शुक्रवार दस्तखत नगरेको कारण बोर्ड बैठक चल्न नसकेको र बोर्ड बैठक सरेको जानकारी ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भनेका छन्।
प्रकाशन मिति–२०७८ साल असार ५ गते शनिवार ।