ललितपुर। ललितपुर महानगरपालिकाको बजेट पास हुन सकेन । ललितपुर महानगरपालिकाको नगरसभाका दुई तिहाई बहुमत सदस्यहरुले नगरसभा नै बहिस्कार गरेपछि बजेट पास हुन नसकेको हो।

विहीवारको नगरसभालाई ९२ सदस्यहरुमध्येवाट ६६ जनाको बहुमत सदस्यहरुले नगरसभा बहिस्कार गरेको जानकारी ललितपुर महानगरपालिकाका लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। वडा अध्यक्ष श्रेष्ठका अनुसार, नगरसभामा बहुमतका नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गरेका हुन्।

ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल नेपाली कांग्रेसवाट निर्वाचित भएतापनि लतिलपुर महानगरपालिकामा नेपाली कांग्रेस अल्पमतमा छ। मेयर महर्जनको मनोमानी विरुद्ध पटक पटक सचेत गर्ने र गराउने कार्य भएतापनि मेयर महर्जनले मनोमानी गर्न नछाडे्का कारण आफूहरुले नगरसभा बहिस्कार गरेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ।

मेयर महर्जनले नगरसभा र कार्यपालिकालाई थाहै नदिई आफूखुसी आर्थिक सहयोगको नाउँमा मनपरी गर्नेकाम गरिरहेको पनि नगरसभा सदस्यहरुको आरोप रहेको वडा श्रेष्ठले खुलासा गरेका छन्।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७६ मा खर्च गर्ने अख्तियार र कार्यविधिको उपदफा९७० मा कार्यपालिकाले सभाबाट स्वीकृत सीमा र शीर्षक बाहिर गई बजेट खर्च गर्न पाउने छैन भन्ने व्यवस्था हुँदा हुँदै ऐन नियम विपरीत मेयर महर्जनले मनपरी गर्न नछाडेपछि नगरसभा बहिस्कार गर्नुको विकल्प नरहेको अर्का वडा अध्यक्ष श्रीगोपाल महर्जनले भनेका छन्।

प्रकाशन मिति–२०७८ साल असार १० गते विहीवार ।