काठमाडौ। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या अव चांडै नै समाधान हुने भएको छ। आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताएका छन्।

सूचना अधिकारी आचार्यका अनुसार हालका लागि विकल्पका रुपमा अल्पकालिन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ। यसै साताभित्र अल्पकालिन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ।

हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि यतिका वर्ष भइसक्यो । अब उक्त स्थानमा फोहर राख्न मिल्ने अवस्था पनि छैन्। त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो। हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ। त्यस्तै दैनिक निजी र महानगरको गरी २०० गाडी फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

अघिल्लो साता शुक्रबार नै फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको थियो। उक्त फोरमकै अगुवाईमा छिटो वातावरण विभागसहित भएर फोहर फ्याक्ने स्थानको तय गर्नका लागि काठमाडौं महानगरपालिका लागिपरेको सूचना अधिकारी आचार्यले भनेका छन्।

फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव छन्। सदस्यमा काठमाडौँका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा नगरपालिका, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर तथा उपमेयरहरु रहेका छन्।
प्रकाशन मिति–२०७५ साल असोज २४ गते बुधवार। (घटस्थापना)